२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

नयाँ नेतृत्व, पुरानै समस्या: गगनले कसरी बदल्लान् कांग्रेस ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा भारी मतान्तरसहित निर्वाचित भए।

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै पार्टीको बागडोर सम्हाल्ने वैधानिक जिम्मेवारी पाएका हुन्।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे।

महाधिवेशनमा कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो।

२०४६ सालको जनआन्दोलनका बेला कक्षा ९ मा अध्ययनरत छँदै आन्दोलनमा सहभागी भएका गगन झन्डै चार दशक लामो राजनीतिक यात्रापछि कांग्रेसको नेतृत्वमा पुगेका हुन्।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित हुँदै पार्टीको सर्वोच्च पदमा पुगेका थापाको यात्रा आन्दोलन, संसदीय अभ्यास, सरकार सञ्चालन र पार्टीभित्र रूपान्तरणको प्रयाससँग जोडिएको छ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनलाई बधाई दिँदै कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभारा प्राप्त भएको बताएका छन्।

पौडेलले आफूहरू युग बदल्ने संकल्पसहित अघि बढेको उल्लेख गरेका छन्। ‘बाटो पक्कै सजिलो छैन। चुनौतीका पहाडहरू थुप्रै छन्। तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन,’ उनले भनेका छन्, ‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ।’

पौडेलले थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा आफू इमानदार सहयात्रीका रूपमा सँगै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना,’ उनले भनेका छन्, ‘इमानदार सहयात्रीका रूपमा हामी सँगै हुनेछौँ।’

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि गगनका लागि नयाँ यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको उल्लेख गर्दै शुभकामना दिएका छन्।

शर्माले देशलाई गन्तव्यमा पुर्‍याउन धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै कठिनाइहरूको संयमपूर्वक सामना गर्नुपर्ने बताएका छन्।

उनले भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै समुन्नति सम्भव तुल्याउनुपर्ने बताएका छन्।

‘हामीले सक्नुपर्छ र सक्नेछौं,’ शर्मा भन्छन्, ‘अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौं साथमा।’

नेपाली कांग्रेसको सभापति पदमा गगनसँग पराजित श्यामकृष्ण खड्गीले पार्टीभित्रका असमझदारी अन्त्य गर्दै सबै पक्षलाई एकताको मूलधारमा समेट्न गगनलाई आग्रह गरेका छन्।

उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनका भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताकार्यकर्तालाई समेत संवाद, सहमति र सम्मानका साथ पार्टी एकताको मूलधारमा समेट्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ।

‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्,’ खड्गीले भनेका छन्, ‘कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्। सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने साथीहरूको मन जित्न पनि आवश्यक रहेको बताएका छन्।

‘मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन,’ उनी भन्छन्।

खड्गीले गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सके कांग्रेसलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

‘व्यक्तिगत हारजितभन्दा पार्टीको एकता ठूलो हो, पदभन्दा सम्बन्ध ठूलो हो र स्वार्थभन्दा विचार ठूलो हो,’ खड्गीले भने, ‘आउनुहोस्, अब सबै मिलेर नेपाली कांग्रेसको उज्ज्वल भविष्यका लागि अघि बढौं।’

यस्तै, नेपाली कांग्रेसका सभापति गगनले पार्टीको नेतृत्व सम्हालेसँगै संगठनलाई एकताबद्ध बनाउनेदेखि कार्यकर्तालाई जनतामाझ सक्रिय बनाउनेसम्मका चुनौती सामना गर्नुपर्ने कांग्रेसका नेता किशोरसिंह राठोर बताउँछन्।

उनका अनुसार गगनले पार्टीको नेतृत्व परिवर्तनलाई संगठनको सोच, कार्यशैली र जीवनशैलीमा परिवर्तन ल्याउने प्रक्रियामा रूपान्तरण गर्न सक्नुपर्छ। नेतृत्वमा नयाँ पुस्ताको आगमन मात्रै पर्याप्त नहुने भन्दै उनले पार्टीभित्र काम गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।

गगनले महाधिवेशन प्रतिनिधिहरूलाई घरमा बस्न नदिई काममा लगाउने प्रतिबद्धता जनाएको बताउँदै राठोरले त्यसको व्यावहारिक कार्यान्वयन महत्त्वपूर्ण हुने जिकिर गरे।

उनका अनुसार महाधिवेशनमा सहभागी भएका सात हजारभन्दा बढी प्रतिनिधि केन्द्रीय समितिमा निर्वाचित भए पनि नभए पनि आ-आफ्नो वडामा फर्केर जनताका समस्या सुन्ने र उनीहरूलाई पार्टीसँग जोड्ने काममा लाग्नुपर्छ।

‘पद लिँदैमा वडा जिताउने हैसियत हुँदैन, त्यसका लागि काम गर्नुपर्छ,’ नागरिकन्यूजसँग उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरू फर्केर आफ्नो वडामा जनताले के चाहिरहेका छन् भन्ने कुरा सुन्नु अहिलेको ठूलो चुनौती हो।’

उनले कांग्रेसमा विचार र इतिहासको महत्त्व रहे पनि अहिलेको युवा पुस्ताले परिणाम खोजिरहेको बताए। विगतमा कांग्रेसले जनतालाई अधिकार दिलाउन, विकास गर्न र शान्ति स्थापनामा योगदान पुर्‍याएको उल्लेख गर्दै उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु कमजोरीका रूपमा रहेको बताए।

उनका अनुसार अहिले जनताले नेताहरूबाट भाषण र आश्वासनभन्दा पनि प्रत्यक्ष परिणाम खोजिरहेका छन्। त्यसैले कांग्रेसले आफू बदलिएको दाबी गर्नुभन्दा जनताका समस्या समाधान गरेर देखाउनुपर्ने उनको भनाइ छ।

‘नेतृत्व परिवर्तन भएर मात्रै हुँदैन, सोचमा, कार्यशैलीमा र जीवनशैलीमा आमूल परिवर्तन गरेर जानुपर्छ,’ उनले भने, ‘राजनीति पाउनका लागि होइन, दिनका लागि गर्नुपर्छ।’

राठोरले कांग्रेसलाई एकढिक्का बनाउनुका साथै पार्टीभित्र सबै तहका नेता तथा कार्यकर्तालाई न्याय गर्नुपर्ने आवश्यकता पनि औंल्याए। सभापतिदेखि तल्लो तहका क्रियाशील सदस्यसम्म सबैलाई निष्पक्ष व्यवहार गर्नुपर्ने भन्दै उनले पार्टीमा योगदान गर्ने कार्यकर्ताको मूल्यांकन र सम्मान हुनुपर्ने बताए।

‘नेताले न्याय गरेन भने कार्यकर्ता जाने ठाउँ हुँदैन,’ उनले भने, ‘सभापतिदेखि तलका क्रियाशील सदस्यसम्म सबैले न्याय पाउनुपर्छ।’

उनले कांग्रेसलाई अनुशासित, मर्यादित र जनताका लागि उदाहरणीय राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिए। कांग्रेसलाई केवल राजनीतिक संगठनका रूपमा नभई जीवनपद्धतिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

गगनले नेतृत्व सम्हालेपछि पार्टीको दिशा, संगठन सञ्चालनको शैली र जनतासँगको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछन् भन्ने कुरा आगामी दिनमा स्पष्ट हुँदै जाने उनले बताए। आगामी स्थानीय तहको निर्वाचनलाई पनि कांग्रेसको संगठनात्मक क्षमता र जनतासँगको सम्बन्ध परीक्षण गर्ने अवसरका रूपमा हेरिएको उनको भनाइ छ।

यस्तै, राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरेका छन्। आफू कांग्रेसको सदस्य नभए पनि पार्टीको लोकतान्त्रिक चरित्र, खुला समाजको प्रवर्द्धन र उदार लोकतन्त्रको वकालत गर्ने प्रवृत्तिका कारण कांग्रेस मन पर्ने उनले बताए।

कांग्रेसको भुइँतह नै लोकतान्त्रिक रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य नमान्ने निरंकुश नेतालाई समेत पार्टीबाट हटाउन सक्ने सामर्थ्य कांग्रेसमा रहेको उनको भनाइ छ।

‘म कहिल्यै नेपाली कांग्रेस थिइनँ, न नेपाली कांग्रेस हुँ र सम्भवतः कहिल्यै नेपाली कांग्रेसको सदस्य हुने पनि छैन,’ उनले भने, ‘तर मलाई राजनीतिक रूपमा नेपाली कांग्रेस किन मन पर्छ भने यसको भुइँतह नै लोकतान्त्रिक छ। यसले खुला समाजको प्रवर्द्धन गर्छ। यसले उदार लोकतन्त्रको वकालत गर्छ।’

यसैगरी, अर्का राजनीतिक विश्लेषक दामोदर खतिवडाले नेपाली कांग्रेसका सभापति गगनसामु पार्टीलाई एकताबद्ध राख्ने र राष्ट्रिय राजनीतिमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने मुख्य चुनौती रहेको बताएका छन्।

गगन सभापतिमा निर्वाचित हुनुलाई नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई निर्णायक मोड दिने घटनाका रूपमा व्याख्या गर्दै खतिवडाले अब त्यसलाई पार्टीको संगठनात्मक रूपान्तरणमा बदल्नुपर्ने बताए।

‘नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको बहस नेपालमा लामो समयदेखि चल्दै आएको थियो। तर, सामान्य प्रक्रियाबाट त्यो सफल हुन सकेन,’ उनले नागरिकसँग भने, ‘कांग्रेसमा पनि पुस्तान्तरणका लागि विद्रोह नै गर्नुपर्‍यो। त्यसैले यो नेपालको राजनीतिक इतिहासमा एउटा सीमारेखाका रूपमा स्थापित हुन सक्छ।’

खतिवडाका अनुसार गगनको पहिलो प्राथमिकता कांग्रेसलाई एकताबद्ध राख्नु हुनुपर्छ। पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्दै असहमत पक्षलाई समेत समेट्न सके मात्रै कांग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ।

‘जब उहाँले आफ्नो पार्टीलाई एकताबद्ध राख्न र जनताको विश्वास पुनः जित्न सक्नुहुन्न, तब राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुहुन्न,’ उनले भने।

उनले कांग्रेसका पुराना नेताहरूलाई पार्टीबाट पूर्ण रूपमा बाहिरिनुपर्ने अवस्था आउन नदिन नेतृत्वले पहल गर्नुपर्ने बताए। शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला र शेखर कोइरालालगायत नेताहरूलाई समेटेर अघि बढ्नु कांग्रेसकै हितमा हुने उनको विश्लेषण छ।

‘देशको राजनीतिलाई ठीक ढंगले अघि बढाउने हो भने दुईवटा कांग्रेस आवश्यक छैन। एउटै कांग्रेस भए हुन्छ,’ खतिवडाले भने, ‘जति विवाद गर्ने हो, लोकतन्त्रको अभ्यास आफ्नै पार्टीभित्र गरे हुन्छ।’

उनले पार्टीभित्र गुट र उपगुट हुनु बहुदलीय लोकतन्त्रमा स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने नाममा राजनीतिक प्रतिस्पर्धा निषेध गर्नुभन्दा स्पष्ट प्रक्रिया र मूल्य प्रणाली स्थापित गर्नुपर्ने बताए। उम्मेदवार छनोटदेखि पार्टी सञ्चालनसम्म निश्चित विधि र मान्यताअनुसार चल्नुपर्ने उनको सुझाव छ।

खतिवडाले थापाको अर्को प्रमुख जिम्मेवारी राष्ट्रिय सरोकारका मुद्दालाई प्रभावकारी रूपमा उठाउनु रहेको बताए। बालेन शाह नेतृत्वको सरकार बनेपछि पनि महँगी, ग्यास आपूर्ति, बाढीपहिरोपीडितका समस्या, भूमिहीनको अवस्था र वैदेशिक पलायनजस्ता विषयमा जनताका असन्तुष्टि सम्बोधन हुनुपर्ने उनको भनाइ छ।

‘पार्टीलाई एकताबद्ध राख्नुका साथै राष्ट्रिय मुद्दाहरूलाई गम्भीरतापूर्वक उठाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारको कार्यशैलीका कारण बाहिर परेको वा निराश भएको समाजको तप्कालाई प्रतिपक्षले समेट्न सक्नुपर्छ।’

उनका अनुसार गगनले सरकारका कामको निगरानी गर्दै कमजोरीमाथि प्रश्न उठाउने र जनताका समस्यालाई संसद् तथा सार्वजनिक बहसमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

खतिवडाले गगनको नेतृत्वलाई अहिले नै मूल्यांकन गर्ने समय नभएको उल्लेख गर्दै अब भने पार्टीको वैधानिक नेतृत्व प्राप्त गरेपछि परिणाम देखाउने समय आएको बताए।

‘अहिलेसम्म गगनले पार्टीभित्र पूर्ण वैधानिक पकड बनाइसकेका थिएनन्। त्यसैले राष्ट्रिय राजनीतिमा गम्भीर भूमिका निर्वाह गर्न सकेनन् भनेर आरोप लगाउने समय थिएन,’ उनले भने, ‘अब उहाँको नेतृत्व स्थापित भइसकेको छ। त्यसैले पार्टी एकता र सशक्त प्रतिपक्षको भूमिकामा ध्यान केन्द्रित गर्नुपर्छ।’

उनले गगनले तत्काल दुई विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। पहिलो, कांग्रेसबाट अलग भएर अर्को पार्टी बनाउन चाहनेहरूलाई रोक्दै असन्तुष्ट पक्षलाई मूल पार्टीमै समेट्ने। दोस्रो, प्रतिपक्षको भूमिका सशक्त बनाउँदै सरकारका कमजोरीमाथि प्रभावकारी ढंगले प्रश्न उठाउने।

खतिवडाका अनुसार गगनको नेतृत्व सफल भएको छ कि छैन भन्ने कुरा पुस्तान्तरणको नाराले मात्र होइन, पार्टीभित्रको एकता, निर्णय प्रक्रियामा स्थापित हुने विधि र जनताका मुद्दामा देखिने सक्रियताले निर्धारण गर्नेछ।

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगनकुमार थापासामु पार्टीको कार्यशैली बदल्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र जनविश्वास पुनः स्थापित गर्ने चुनौती देखिएको छ। सभापति बनेपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेसको राजनीतिक संस्कार, कार्यशैली र जिम्मेवारीबोधमा व्यापक परिवर्तन ल्याउने संकेत गरेका छन्।

थापाको नेतृत्वलाई कांग्रेसभित्र साधारण नेतृत्व परिवर्तनका रूपमा मात्र नभई पार्टीको सांगठनिक संरचना र जनतासँगको सम्बन्ध पुनर्निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ। लामो समयदेखि पार्टीमा देखिँदै आएको गुटगत प्रतिस्पर्धा, परम्परागत कार्यशैली र आन्तरिक व्यवस्थापनसम्बन्धी प्रश्नबीच संगठनलाई एकताबद्ध बनाउनु उनको प्रमुख चुनौती हुनेछ।

थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनी शासनको पक्षमा दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अब उनको नेतृत्वको परीक्षा आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतार्ने, पार्टीभित्र जवाफदेहिता स्थापित गर्ने र कांग्रेस छाडेका समर्थक तथा शुभचिन्तकलाई पुनः पार्टीसँग जोड्ने क्षमतामा निर्भर हुनेछ।

सभापति बन्नु थापाको राजनीतिक उपलब्धि भए पनि कांग्रेसलाई कति रूपान्तरण गर्न सक्छन् भन्ने नै उनको नेतृत्वको मुख्य मापदण्ड हुनेछ। आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै संगठनात्मक एकता कायम गर्न र नागरिकका मुद्दामा परिणाममुखी काम गर्न सके मात्रै उनको नेतृत्वमा कांग्रेसले नयाँ दिशा लिन सक्नेछ।

प्रकाशित: २५ आश्विन २०८३ १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App