१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

आन्तरिक झमेलामा नयाँ-पुराना दल

मुलुकका प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत सिट जितेर सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आन्तरिक झमेलामा अलमलिएका छन्।

रास्वपामा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबिचको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानेले डोलप्रसाद अर्याललाई उपप्रधानसहित गृहमन्त्री बनाउन चाहेका थिए। त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाइका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए। तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दाबी छ।

महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रास्वपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय दलको नेता हटाउन सक्ने प्रावधान राखिएपछि रास्वपाभित्रको आन्तरिक विवाद सडक, सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ।

सुनसरीको कप्तानगन्ज घटनाले पनि रास्वपाभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढावा दिएको छ। उक्त घटनाले धार्मिक रु लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए। तर प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन्।

सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागिपरेको प्रधानमन्त्री निकट नेताहरूको आशंका छ। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबिच समन्वय र सहकार्यभन्दा आशंका र अविशवास एकपछि अर्को गर्दै बढ्दै गएको निकट स्रोतको दाबी छ। आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रुपमा काम गर्न नसकेको एक नेताको दाबी छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत सिट जितेर सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक झमेलामा अलमलिएका छन्।

सत्तारुढ रास्वपा मात्र होइन, मुलुकको पुरानामध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टीभित्र बढ्दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। पुरानो नेतृत्व पक्ष (हाल इतरपक्ष) ले १४औं महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिमा समायोजन गर्नुपर्ने माग राखेको छ। तर संस्थापनपक्ष पुरानो समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने पक्षमा छैन। संस्थापनपक्ष इतर समूहमा रहेका नेतालाई एक एक गरी पक्षमा पार्ने रणनीतिमा छ।

संस्थापनपक्षले उपेक्षा गरेपछि इतरपक्षले पार्टी संस्थापकमध्यका एक नेता बिपी कोइरालाका छोरा शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेलामार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतरपक्षको तयारी छ। दुवै पक्ष आआफ्नो बाटोमा अघि बढेपछि एउटा समूह एकताका लागि नेताहरूलाई दबाब दिन सक्रिय छ। शंकर भण्डारीसहितको अर्को समूह हिन्दु राज्यको पक्षमा खुलेर अघि बढेको छ। यसैकारण कांग्रेस यतिबेला आफ्नो मौलिकता नै गुमाउने अवस्थामा पुगेको छ।

प्रतिनिधिसभाको तेस्रो ठुलो दल एमालेभित्र पनि किचलो बढ्दै गएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वासपात्रहरू नै उनको विपक्षमा उभिएका छन्। ओलीलाई अध्यक्षबाट हटाएर पार्टी पुनर्गठनको पक्षमा नेताहरू सक्रिय भइरहेका बेला उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण आरोपमा गरेको पक्राउले पनि आन्तरिक अविश्वासलाई थप बढाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमालेभित्रको विवाद बढाएको नेताहरू बताउँछन्। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई हटाएर अर्कालाई मुख्यमन्त्री बनाउने केन्द्रको निर्णयलाई चुनौती दिँदै आएका छन्। विवाद मिलाउन एमाले कोसी प्रदेश कमिटीका पदाधिकारी, प्रदेशसभाका सांसदसहितको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

बैठक एमाले मोरङ जिल्ला कार्यालय विराटनगरमा सोमबार दिउँसो बसेको थियो। एमाले अध्यक्ष ओलीले कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउने गरी केन्द्रीय सचिव एवं कोसी प्रदेश इन्चार्ज शेरधन राईलाई विवाद मिलाउन खटाएका छन्। 

ओलीको निर्देशनअनुसार खटिएका राईले मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न गरेको आग्रहलाई कार्कीले अस्वीकार गरेका छन्। अन्य प्रदेशमा पनि विवाद छ। यसैकारण सहमतिअनुसार प्रदेशमा नयाँ सरकारले आकार ग्रहण गर्न नसकेको अवस्था छ। अध्यक्ष ओलीले पार्टीभित्रको असन्तुष्ट पक्षलाई विश्वासमा नलिईकन नेकपासँग सत्ता सहकार्यको सहमति गरेका थिए।

सत्ता सहकार्य सहमतिले एमालेभित्र मात्र होइन, नेकपामा पनि असन्तुष्टि बढाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधवकुमार नेपाल असन्तुष्ट छन्। नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्काा नेता झलनाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा अघि सारेका छन्। दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लिँदा विगतमा गल्ती भएको स्वीकार गरेका छन्। एमाले र नेकपाका दोस्रो पुस्ताका नेताले ओली, दाहाल, खनाल, नेपालसहितले नेतृत्व छाड्नुपर्ने माग गर्दै आएका छन्।

पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवादमा छ। धवलशमशेर राणसहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्यसहित पार्टीले लिने मूल अजेन्डाका विषयमा फरक मत देखिएको छ। निर्वाचन मुखमा भएको कमल थापासहितको एकीकरणले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। थापासहितका नेताहरू अध्यक्ष राजेन्द्र लिङ्देनको विपक्षमा रहेको निकट नेताहरूको दाबी छ।

सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटकपटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन २३ गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी आबद्ध हुने बताइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनलसहितका नेताहरूले मोर्चा बनाउने समझदारी सोमबार गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०८३ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App