२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सस्तो कुखुरा र आधुनिक खोरको प्रलोभन : सयौँ किसान ठगिएको गुनासो

उन्नत जातको कुखुरा र आधुनिक खोर सहयोग पाउने प्रलोभनमा उदयपुरका सयौँ किसान ठगिएका छन्।

कुखुरा पालन व्यवसायका लागि उन्नत जातको चल्ला र आधुनिक खोर सहयोग पाउने झुट्टो आश्वासनमा परेर जिल्लाको चौदण्डीगढी नगरपालिका-५ र ६ का सर्वसाधारण किसान ठगिएका हुन्।

पीडित किसानका अनुसार असार पहिलो साता पिकअप भ्यानभरि कुखुराको चल्ला लिएर गाउँ आएको चार जना युवतीको टोलीले सर्वसाधारण किसानलाई ५ सय रुपैयाँ लिएर २० वटाका दरले कुखुराको चल्ला दियो। जम्मा ६ हजार रुपैयाँमा २० वटा चल्ला दिँदै कुखुरा पाल्ने अत्याधुनिक खोर उपलब्ध गराउने भनेपछि कृषकहरू लोभिएर ठगिनुपरेको हो।

यसरी ठगिनेमा सचेत तप्कामा पर्ने शिक्षकदेखि लामो समयदेखि व्यावसायिक कुखुरा पालन गर्दै आएका सर्वसाधारण किसानसमेत परेका छन्। स्थानीय विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले भने, ‘म भर्खर स्कुलबाट घर आइपुगेको थिएँ, आमाले सबै कुरा सुनाउँदै ६ हजार पैसा चाहियो भन्नुभयो। गाउँलेहरूले रसिद काटिसकेका रहेछन्, मैले टोलीसँग कुरा गरेँ, दुरुस्तै लाग्यो अनि पैसा क्युआर गरिदिएँ।’

शिक्षक चौधरीका अनुसार सुरुमा ५ सय रुपैयाँ अग्रिम लिएर ५ हजार ५ सय बाँकी राखेको रसिद काटेको टोलीले तत्काल २० वटा ब्रोइलर चल्ला किसानलाई दिएका थिए। त्यसको दुई-तीन दिनपछि फेरि आएर सात दिनभित्र आधुनिक खोर ल्याइदिने भन्दै बाँकी ५ हजार ५ सय रुपैयाँ पनि लिए। टोलीमा संलग्न १८-२५ वर्ष उमेर समूहका चार युवतीहरू सबै पश्चिमी शैलीको नेपाली भाषा प्रष्ट बोल्ने बाहुनक्षेत्री (खस आर्य) समुदायका रहेको शिक्षक चौधरीले बताएका छन्।

पीडितमध्येका एक प्रवीण चौधरीका अनुसार किसानलाई दिइएको रसिदमा ‘मनकामना एग्रीकल्चर डेभलपमेन्ट, वीरेन्द्रनगर १२ सुर्खेत’ लेखिएको छ। निजी नम्बर प्लेटको प्रदेश २-०३-००१-५६७४ नं. को पिकअप भ्यानमा आएका उनीहरूले गाडीको पछाडि डालाभरि चल्ला पनि सँगै ल्याएर बाँड्ने गर्थे। किसानबाट क्युआरमा भुक्तानी लिनेमध्ये एक युवतीको इसेवा आईडी दिलाशा पाण्डे रहेको उनीहरूले बताएका छन्।

अर्की पीडित कलावती चौधरीले गाउँका सबै किसान सल्लाह गरेरै कुखुरा लिने सहमति गरेको तर ठगीमा परेको कुरा बल्ल थाहा पाएको बताइन्। खाइलाग्दा फुर्तिला देखिने जेनजी युवतीहरू हात जोडेर नमस्कार गर्दै मीठो भाषामा कुखुरा पालन व्यवसायीलाई सहयोग गर्ने भन्दै आएपछि टोलभरिका सोझा किसानहरू सबै ठगिएको उनको भनाइ छ। ‘६ हजारमा २० वटा कुखुराका चल्ला र आधुनिक खोर पाउने भएपछि सबैले पत्यायौँ,’ चौधरीले भनिन्, ‘तर, त्यस्ता लोभ्याउने युवतीहरूले यसरी ठग्छन् भन्ने के थाहा, शंकै लागेको थिएन।’

असार २ गतेदेखि गाउँ पसेको टोलीले चार-पाँच दिनको अवधिमा चौदण्डीगढीका ५ र ६ नं. वडाका प्रायः सबै सोझासाझा किसान बस्ने गाउँटोल ठगेर भ्याइसकेको स्थानीयले बताएका छन्। ५ नं. बेलहा र सुन्दरपुरका फुलबारी टोलविकास संस्था, कालिका र सतासी टोलविकास संस्थाका घरगन्ती किसानहरू ठगीमा परेका छन्। त्यसैगरी छिमेकी बस्ती सिरुवानी, केचवाई र बेल्हीका विभिन्न टोलविकास संस्थाहरूभित्रका किसानहरू पनि यस्तो ठगीमा परेको पीडित रञ्जिता चौधरीले बताइन्।

५ सय रुपैयाँमा २० वटा कुखुरा पाउँदा मख्ख परेका किसानहरूले आधुनिक खोरको आशमा थप ५ हजार ५ सय रकम बुझाएको महिना दिन बितिसक्दासम्म पनि खोर नपाएपछि सम्बन्धित व्यक्तिहरूको खोजी गरे पनि कसैसँग सम्पर्क हुन सकेन। टोलीमा आउने चार युवतीहरू सबैको मोबाइल अफ भएको पाएपछि मात्र आफूहरू ठगिएको रहस्य खुलेको उनीहरूको भनाइ छ।

ठगिएको रहस्य खुलेपछि बल्ल उनीहरू न्यायका लागि कदम चाल्ने तयारीमा जुटेका छन्। असार पहिलो साताको कुरा साउन सकिन लाग्दासम्म सम्पर्कमै नआएपछि पक्कै ठगीमा परेको निष्कर्ष निकाल्दै प्रशासन गुहार्न लागेको उनीहरूले बताए। अहिलेसम्म ५ र ६ नं. वडावासी मात्र ठगिएको हो या अन्यत्र पनि भन्ने यकिन नभई सकेको स्थानीयको भनाइ छ। जानकारी अनुसार सो टोली बेलटार बजारको बसपार्क क्षेत्रको होटलमा १५ दिनसम्म बिहान निस्कने र साँझमा फर्केर बस्ने गरेको थियो।

यसबारे प्रहरी र स्थानीय तहका जनप्रतिनिधिलाई भने जानकारी नभएको बताएका छन्। चौदण्डीगढी ५ का वडाध्यक्ष तुलसीराम ढकालले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए। स्थानीय प्रहरी चौकीले पनि कुखुरा ठगीबारे कसैले आधिकारिक जानकारी नगराएको जानकारी दिएको छ। 

प्रकाशित: १९ श्रावण २०८३ १७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App