नर्सहरूको अधिकार तथा पेशागत सुरक्षाको माग गर्दै छ दिनदेखि अनशनमा रहेकी नर्स ज्योति रानाभाटको जीवनरक्षाको माग गर्दै अर्की अभियन्ता जीता बरालले पनि अनशन सुरु गरेकी छन्। मंगलबार साँझदेखि उनले नेपाल नर्सिङ एसोसिएसनको हाताभित्र अनशन सुरु गरेकी हुन्।
रानाभाटले गत बिहीबारदेखि नर्सहरूको पेशागत सुरक्षाका लागि १५ बुँदे मागसहित आमरण अनशन सुरु गरेकी हुन्। अनशनका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई शनिबारदेखि वीर अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई वीर अस्पतालको आईसीयूमा राखिएको छ।
अस्पतालले नर्स रानाभाटको स्वास्थ्यमा पर्याप्त ध्यान नदिएको, उनको अवस्थाबारे सार्वजनिक जानकारी नगराएको तथा सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै उनको जीवनरक्षाका लागि आफूले पनि अनशन सुरु गरेको नर्स बरालले बताइन्।
वीर अस्पतालले भने मंगलबार आफ्नो आधिकारिक पेजमार्फत रानाभाटको शरीरमा पानी, मिनरल तथा फस्फोरसको मात्रा कम भएको र उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी भइरहेको जनाएको छ।
सांसद तोसिमा कार्की पनि रानाभाटलाई भेट्न वीर अस्पताल पुगिन्
मंगलबार साँझ सांसद तोसिमा कार्कीले अनशनरत नर्स ज्योति रानाभाटलाई भेटेकी छन्। कार्कीले आफू भेट्न मात्र आएको बताइन्।
अस्पताल परिसरमा रहेका नर्स तथा स्वास्थ्यकर्मीहरूले सरकारले नर्सहरूको जायज माग समयमै सम्बोधन नगरेकाले रानाभाटको स्वास्थ्य जोखिममा परेको बताएका छन्। लामो समयसम्म केही नखाँदा शरीरमा पानीको मात्रा अत्यधिक घट्ने, मिर्गौला फेल हुन सक्ने तथा अन्य गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: १९ श्रावण २०८३ १७:४७ मंगलबार





