प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानका प्रति कटाक्ष गरेकी छन्।
मङ्गलबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै सांसद न्यौपानेले रास्वपाले अदालतमा न्याय प्रभावित हुने गरी हस्ताक्षर अभियान सञ्चालन गरेको जिकिर गरिन्। रास्वपाका सांसदहरूले विधिको शासन र लोकतन्त्र पढाएको उल्लेख गर्दै उनले सोधिन्, 'पैसा पनि दिनुपर्ने, हस्ताक्षर पनि गर्नुपर्ने, के यो विधिको शासन हो ? उहाँले अदालतको अवहेलना गरेको मानिन्छ कि मानिँदैन ? कसको कारणले आयो ? आज जेलमा २८ हजार ७१८ कैदीबन्दी छन्। त्यसमध्येमा एकजना रविजी हुनुहुन्छ।'
उनले अगाडि भनिन्, 'विधिको शासन र लोकतन्त्र हामीलाई पढाएर जानुभएको छ, सरकार कस्तो हुन्छ र विधिको शासन कसरी मान्नुपर्छ भनेर। म भन्न चाहन्छु- म नेपाली कांग्रेसको कार्यकर्ता हुँ, अहिले सांसद छु, केन्द्रीय सदस्य हुँ नेपाली कांग्रेसको। मलाई मेरो पार्टीले अदालतमा विचाराधीन विषयबारे बाहिर बोल्नुहुँदैन, त्यहाँको न्याय प्रभावित हुन्छ भनेर भनेको छ। तर, अहिले भर्खरै हामीलाई शिक्षा दिएर जाने पार्टीका साथीहरू अदालतको विचाराधीन विषयमाथि; नेपालभरि हस्ताक्षर अभियान त्यो पनि क्यूआर कोडसहित।'
रास्वपाले विगत दुई महिनायता संसद् बहिष्कार गर्दै आएको छ। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गरी रास्वपाले संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठकमा पनि रास्वपा सांसदहरू उपस्थित भएका थिए तर, सुरुमै बोलेर निस्के। निस्किनुअगाडि सांसद शिशिर खनालले सरकारलाई 'हाउ डेमोक्रेसी डाइज्' भन्ने पुस्तक पढ्न आग्रह गरेका थिए।
प्रकाशित: २७ श्रावण २०८२ १५:१७ मंगलबार