नेपालमा भएको जेन-जी आन्दोलनले अन्तराष्ट्रिय छविमा दाग लागेको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलन र हिंसात्मक प्रदर्शन भएपछि खाडी मुलुक, मलेसिया तथा युरोपेली देशहरूले नेपालीलाई भिसा दिन आनाकानी गरेका छन् । नेपालीको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा दिन छाडेलगत्तै खाडी मुलुकहरू र मलेसियाले पनि नदिएको पाइएको छ । जेन-जी आन्दोलनमा देश जलेसँगै विदेशीले पनि नेपालीलाई भिसा दिन आनाकानी गरेका हुन् ।
जेन-जी आन्दोलनपछि युएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाउँदै आएको छ । यसबारे युएईले नेपाललाई अनौपचारिक जानकारी नदिनुको कारण समेत खुलाएको छैन । त्यससँगसँगै अन्य देशले पनि भिसा दिन आनाकानी गरेको अधिकारीहरू बताउँछन् । वैदेशिक रोजगारीका लागि मलेसिया कुनै समय प्रमुख गन्तव्य थियो । तर मलेसियाले विदेशी कामदार प्रवेशमा लगाएको प्रतिबन्धका कारण पछिल्ला वर्ष नेपाली श्रमिकको संख्या घट्दै गएको छ ।
मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी कृष्णप्रसाद भुसालका अनुसार मलेसियामा विदेशी कामदार नल्याएको झन्डै दुई वर्ष हुन लाग्यो । मलेसियाको मुख्य क्षेत्र म्यानुफ्याक्चरिङ सेक्टर बन्द भए पनि आंशिक क्षेत्र सुरक्षा गार्ड, प्लान्टेसन, होलसेल पसल र केही अन्य क्षेत्रका लागि मात्र कामदार लिने गरेको थियो । अहिले त्यो पनि बन्द होला जस्तो छ । जेन-जी आन्दोलनमा देशव्यापी रूपमा राष्ट्रिय र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी र विभिन्न जिल्लामा रहेका जेलबाट भागेका कैदीहरू छरपस्ट भएको घटनाले विदेशीले नेपालीलाई भिसा दिन रोक लगाएको हुन सक्ने उनको अनुमान छ ।
नेपाली जाने विदेशी कुनै पनि मुलुकले तत्काल कुनै औपचारिक सूचना प्रवाह गरेको छैन । तर युएईले नेपालीलाई भिसामा रोक लगाएसँगै अन्य देशले पनि भिसा दिन कडाइ गर्दै आएको उनले नागरिकसँग बताए । ‘युएईलाई चाहिने आवश्यक कागजात राखेर निवेदन पठाएको खण्डमा एक दिनभित्रै भिसा आउँछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै कैदी जेलबाट भागेका छन्,’ उनले भने, ‘जेलबाट फरार भएका र तोडफोडमा संलग्नहरू युएई छिर्न सक्ने सम्भावना देखेरै सायद युएईले भिसामा रोक लगाएको थियो । तर अब अन्य देशले पनि भिसामा कडाइ गर्ला जस्तो छ ।’
२०२४ को मे ३१ देखि मलेसियाले नेपालसहित स्रोत देशबाट श्रमिक लैजान बन्द गरेको नीतिलाई पूर्ण रूपमा खोलेको छैन। सीमित क्षेत्रमा मात्रै खोलेको थियो । मलेसियाले २०८१ जेठ १८ देखि विदेशी कामदारको कोटा घटाएको थियो । कुल श्रम शक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले अझै पनि पूर्ण रूपमा खुला गरेको छैन । उक्त १५ प्रतिशत विदेशी कामदार पनि घटाउन लागेको भुसालले जानकारी गराए । गत आर्थिक वर्ष २०८१/८२ मा मलेसियामा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या १० हजार दुई सय १९ मा सीमित रह्यो । पुनः श्रम स्वीकृति लिएर जानेको संख्या भने ३८ हजार नौ सय ६८ मात्र थियो ।
मलेसियाको हालको नीति विदेशी कामदारलाई भन्दा आफ्नै देशमा भएका श्रमिकलाई पहिलो प्राथमिकता दिने भन्ने बुझिएको छ । मलेसिया सरकारले अझै विदेशी कामदार घटाउने नीति ल्याउन लागेको भुसालले जानकारी दिए । मलेसियामा शून्य लागतमा कामदार पठाउँदै आएको आकर्षण इन्टरनेसलका सञ्चालक विष्णु केसीले सबै क्षेत्र अझै पनि नखुलेको बताए । झन्डै दुई वर्षदेखि मलेसियामा नेपाली कामदार पठाउन नसकेको उनले बताए । ‘मलेसिया अब त खुल्नुपर्ने हो,’ केसीले भने, ‘खुल्छ–खुल्छ भनेको थुपै्र समय भयो । अब त केही महिनापछि खुल्छ कि ? मलेसियामा आंशिकको हकमा, पहिला नै भिसा आइसकेका हकमा कुनै पनि छेकबार त छैन । अब पछि के हुन्छ यसको पनि कुनै टुंगो छैन ।’ जेन-जीको आन्दोलनपछि साउदी अरबले पनि नयाँको हकमा भिसा जारी गरेको छैन। युएईपछि साउदी अरब नेपालको दोस्रो प्रमुख गन्तव्य हो। गत वर्ष मात्रै साउदी अरबमा एक लाख ५२ हजार पाँच ५७ जना नेपाली साउदी गएका थिए। अहिले भिसा दिन गाह्रो भएको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
कुनै पनि देशले भिसा दिन बन्द गरेको सूचना आफूहरूले औपचारिक रूपमा नपाएको उनले बताए । ‘नेपालीलाई भिसा दिन बन्द गरेको औपचारिक सूचना हामीसँग छैन। यो समस्या समयमा नै सल्टाउन जरुरी रहेको छ,’ उनले भने, ‘दशैंअगाडि ऋण लिएर विदेश जाने सपना बुनेका ती युवाको बिजोक हुने भयो ।’ पछिल्ला दुई वर्षमा मात्रै भिजिट र रोजगार भिसा लिई युएईमा काम गर्ने नेपालीको संख्या आठ लाख पुगिसकेको छ। नेपालमा रेमिटेन्स बढ्नुको एउटा प्रमुख कारण युएईको श्रम बजारमा नेपालीको बलियो उपस्थिति हुनु पनि हो । यो तनाव थप बढ्दै गए वैदेशिक रोजगारी झन् धराशयीतिर धकेलिने सम्भावना बढेको उनले बताए ।
प्रकाशित: ८ आश्विन २०८२ १७:५८ बुधबार





