३० वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

नेप्सेमा १३ अंकको गिरावट, कारोबार ५ अर्बमा खुम्चियो

साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.१७ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारमा यस दिन परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २८२५.२३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक, फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेका छन्।

बजारमा यस दिन ३४९ कम्पनीको १ लाख १६ हजार ३१० पटकको कारोबारमा १ करोड १६ लाख ५३ हजार कित्ता शेयर ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँमा खरिदबिक्री भएको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

बजार घटे पनि यस दिन चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। यस्तै, झापा इनर्जीको मूल्य करिब १२ प्रतिशत र रिज लाइन इनर्जीको ११ प्रतिशतले वृद्धि भएको छ।

यता, दोल्टी पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ‘सोलु हाइड्रोपावर’ ३६ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो। यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

सोमबार कारोबार भएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्र १.०१ प्रतिशतले बढेको छ। बाँकी १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ।

प्रकाशित: ७ वैशाख २०८३ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App