४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनबाट बहुमत ल्याएर नेपाली कांग्रेस पहिलो दलको रूपमा फेरि स्थापित हुन्छ : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याएर पहिलो दलको रूपमा फेरि स्थापित हुने बताएका छन्। आज (बिहीबार) रुपन्देहीको भैरहवामा नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीका अगुवा, नेता, कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस देशकै ठुलो पार्टीको रूपमा स्थापित भइ देशको नेतृत्व गर्ने दाबी गरेका हुन्। अहिलेको विषम परिस्थितिमा सबैलाई जोड्ने काम नेपाली कांग्रेसले मात्रै गर्न सक्ने उनले बताए।

कांग्रेसले सबैभन्दा पहिले आफूलाई बदलेर बदलिएको चुनावी एजेण्डासहित मुलुक परिर्वतनका लागि होमिएकाले जनताको जनमत पाउने उनले विश्वास व्यक्त गरे। ‘निर्वाचनमा जित्नु वा हार्नु मात्रै कांग्रेसका लागि ठुलो कुरा होइन, यसपालि देशले जित्ने कि हार्ने भन्ने मुल प्रश्न हो,' नेता शर्माले भने। देशलाई जिताउनका लागि नेपाली कांग्रेसले जित्नु पर्नेमा उनले जोड दिए।  

मुल प्रश्न मुलुक विषम परिस्थितिमा पर्दा कुन दलले संयमता पूर्वक परिपक्क ढंगबाट समन्वय गर्दै मुलक र जनतालाई गाँसेर राख्न सक्छ भन्ने ऐतिहसिक तथ्यहरू २००७ साल, २०१५ साल, २०४६ साल, १० वर्षे जनयुद्धलाई बिराम लगाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण, संघीयता कार्यान्वयनमा कांग्रेसले देखाइसकेको उनले बताए।

२०८४ मा हुनु पर्ने निर्वाचन २०८२ मै हुन लागेको भन्दै उनले अहिलेको विषम परिस्थितिलाई गम्भीर समीक्षा गरेर मत दिन  सर्वसाधारणलाई आग्रह पनि गरे।

मुलुक बदल्न पहिले आफैँ बदलिनु पर्ने समयको माग अनुरुप कांग्रेसले आफूलाई सुधार्दै अगाडि बढेको उनले बताए।

आम नेपाली जनताको मुख्य माग नयाँ र युवा रहेको उल्लेख गर्दै उनले कांग्रेसले उम्मेदवारी चयनमा झण्डै दुईतिहाइ उम्मेदवार नयाँ ऊर्जावान रहेको भनाइ राखे। उनका अनुसार देशका १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले मात्रै आफ्ना उम्मेदवार उठाएको छ।

विशेष महाधिवेशनबाट कांग्रेस निकै सुधारीएरको बताउँदै उनले आशन, शासन, भाषण र रासनमा पनि परिमार्जन गरेर जाने दाबी गरे । ‘अब कांग्रेसबाट जो राष्ट्रपति भएपनि एक पटकका लागि मात्रै, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक, सांसद ४ पटक मात्रै हुन पाउनुहुन्छ,’ उनले भने।  

समानुपातिकमा एक पटक मात्रै उम्मेदवार हुन पाउने बताउँदै उनले अबका दिनमा टिकटका लागि केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य गरिएको दाबी गरे। ‘जुन तहको उम्मेदवार हो त्यही तहको क्रियाशील सदस्य बिचको भोटिङ प्रक्रियाबाट टिकट दिने व्यवस्था गरीएको छ,’ उनले भने।

विशेष महाधिवेशनको विषयमा अब नअलमलिन आग्रह गर्दै उनले फागुन २१ सम्म आ-आफनो टोल वडाबाटै कांग्रेसका उम्मेदवारलाई जिताउन रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रका नेताकार्यकतालाई निर्देशन समेत दिए।  

भेलामा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक, रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाह, क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ का उम्मेदवार शुसील गुरुङ, क्षेत्र नं १ का उम्मेदवार हिरा केसी, क्षेत्र नं. ४ का उम्मेदवार आशुतोष मिश्रा, समानुपातिक उम्मेदवार गंगा शाही, कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, उपसभापति अनिता ढुङ्गाना, सचिव हरि काफ्ले लगायतले बोल्दै देशमा सुशासनको प्रत्याभूति गर्दै विकास र समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर लाग्ने बताए।

प्रकाशित: २९ माघ २०८२ २१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App