१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस उदयपुरबाट डा. खड्कासहितको नाम सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कार्यसमिति बैठकले २ निर्वाचन क्षेत्र, समानुपातिक तथा राष्ट्रिय सभाका लागि नामहरु सिफारिस गरेको हो ।  

पार्टी सभापति हिमाल कार्कीका अनुसार प्रत्यक्षतर्फ दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३-३ जनाको नाम सिफारिस गरिएको छ । त्यसैगरि समानुपातिकतर्फ ४ जना र राष्ट्यिसभातर्फ ९ जनाको नाम पनि सोही बैठकले टुङ्गो लगाएर सिफारिस गरेको हो ।  

बैठकले निर्वाचन क्षेत्र १ बाट यसअघि ४ पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका डा. नारायण खड्काको नाम १ नम्बरमा राखेर सिफारिस गरेको छ । ०५६ को प्रतिनिधि सभामा पहिलोपटक भाग लिएर पराजित भएका पार्टी केन्द्रीय सदस्यसमेत रहेका खड्का ०६४, ०७०, ०७४ र ०७९ मा जितेर पटकपटक मन्त्री भईसकेका हुन् ।  

बाँकी २ जनामा विदुर बस्नेत र लक्ष्मी परियारको नाम सिफारिस भएको छ । बस्नेत पूर्वजिल्ला सभापति तथा ०७० को चुनावमा प्रतिनिधिसभा चुनावमा १ नं. बाट पराजित उम्मेदवार हुन् भने परियार ०७४ मा प्रतिनिधिसभातर्फ समानुपातिक सांसद हुन् ।  

त्यसैगरि २ नं. क्षेत्रबाट सञ्जिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुङ्गानाको नाम सिफारिस भएको छ । थापा रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्षसमेत भईसकेका तथा नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । श्रेष्ठ कटारी क्षेत्रका पुराना नेता हुन् भने ढुङ्गाना महासमिति सदस्य तथा पार्टीका पुराना नेता जिवराज ढुङ्गानाकी छोरी हुन् ।  

सोही बैठकले समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । जसमा नारायण कार्की, सत्यनारायण चौधरी, सीता राई र रामकुमारी साह छन् । कार्की ०७० मा विजयी प्रतिनिधिसभा सदस्य हुन् भने राई महिला संघ क्षेत्रीय सभापति तथा साह कटारी क्षेत्रकी पुराना नेतृ हुन् ।  

त्यसैगरि पार्टीले राष्ट्रियसभा सदस्यका लागि समेत नामहरु सिफारिस गर्ने निर्णय गरेको छ । जसमा हेरम्बबहादुर थापा, अर्जुन खड्का, प्रमिला राई, भोजराज खतिवडा, गोविन्द चामलिङ, जन्मजय राई, सञ्जा दनुवार, हिरामान मोते र सुमन परियार रहेका छन् ।  

थापा ०५६ मा प्रतिनिधिसभा पराजित उम्मेदवार हुन्, खड्का उदयपुरका स्थापनाकालका पूर्व जिल्ला सभापति हुन् । त्यसैगरि राई ०६४ को समानुपातिक साँसद तथा ०७४ मा प्रतिनिधिसभामा पराजित उम्मेदवार हुन् भने खतिवडा पार्टीको पूर्व १ नं. निर्वाचन क्षेत्रीय सभापति हुन् ।  

चामलिङ ०५६ मा २ नं. निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भई पराजित भएका थिए भने जन्मजय राई अहिलेसम्म मौका नपाएका निश्कलङ्क नेता हुन् । दनुवार ०७४ को समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुन् भने मोते र परियार नयाँ अनुहार हुन् । तत्कालीन जिल्ला विकास समितिका पूर्व कर्मचारी मोते र परियार पार्टीनिकट दलित फ्याक्सनमा क्रियासिल छन् ।  

सभापति कार्कीले यसपटक प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरिएका कुनैपनि नाम आगामी चुनावमा सिफारिस नगर्ने निर्णय भएको बताए ।  

उनले २ न. निर्वाचन क्षेत्रीय समितिले गरेको सिफारिसमा पार्टीको विधान र निर्देशन विपरितका नामहरु परेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय पनि भएको सभापति बताए । २ नं. क्षेत्रले कारबाहीमा परेका व्यक्तिहरुको नाम उम्मेदावरका लागि सिफारिस गरि पठाएकाले के कति कारणले यी नाम सिफारिस भए भन्ने जानकारी गराउन पत्राचार गर्ने निर्णय कार्यसमिति बैठकले गरेको उनको भनाइ छ ।  

उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा २ नं. क्षेत्रीय सभापति तथा प्रदेश सांसद रामकुमार खत्रीले कारबाहीमा परेका रामकुमार राईको नाम पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस गरेको थिए । सो कुराप्रति असहमति जनाउँदै जिल्ला कार्यसमितिले पार्टी विधानविपरित सिफारिसमा परेका नामहरुको विषयमा क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्कीले बताए ।  

प्रकाशित: २६ मंसिर २०८२ १८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App