नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत देशका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ।
अधिकांश वडामा सर्वसम्मत रूपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएन।
केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार शनिबार र आइतबार ती वडाहरूमा उत्साहपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको हो। नेताहरूका अनुसार अधिकांश वडामा चुनाव नगरी सर्वसम्मत रूपमै नेतृत्व टुंग्याइएको छ।
यद्यपि, भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने विपद्का कारण वडा अधिवेशन हुन सकेको छैन।
यस्तै, सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पनि अधिवेशन प्रक्रिया पूरा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
समितिले अधिवेशन हुन नसकेका र बाँकी रहेका वडाहरूमा असोज ५ गते अधिवेशन निरन्तर सञ्चालन गर्ने जनाएको छ।
अहिले सम्पन्न भएका वडाहरूमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको छैन। देउवा पक्षले आगामी असोज १५ गते मात्र आफ्नो छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको छ।
वडा तहबाट सुरु भएको यो निर्वाचन प्रक्रिया विभिन्न तहगत अधिवेशन हुँदै केन्द्रमा पुग्नेछ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
प्रकाशित: ४ आश्विन २०८३ २१:५९ आइतबार





