नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनको हार-जितले पार्टीको आकार निर्धारण गरेपनि नेपाली कांग्रेस सधैं राष्ट्रिय शक्ति रहने बताएका छन्।
उनले निर्वाचनको परिणामले बनाउने ‘राष्ट्रिय पार्टी’ र देशको संकटमा जिम्मेवारी लिने ‘राष्ट्रिय शक्ति’ बीचको भिन्नतालाई बुझ्नुपर्नेमा जोड दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित नन्दप्रसाद शिवाकोटीको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले के कुरा बिर्सनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौं। राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्छ, कहिले चुनाव जितिन्छ राष्ट्रिय पार्टी भइन्छ, कहिले हारिन्छ भइँदैन। तर राष्ट्रिय शक्ति त्यो हो, जसले राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौतीलाई बुझ्छ, त्यसलाई सम्बोधन गर्ने जोखिम उठाउँछ।’
उनले विगतमा शान्ति प्रक्रिया र संविधान निर्माणको राष्ट्रिय मुद्दालाई कांग्रेसले नै नेतृत्व दिएको स्मरण गराउँदै अहिलेको सबैभन्दा ठूलो राष्ट्रिय मुद्दा जनतामा देखिएको चरम असन्तुष्टि भएको बताए।
‘आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ,’ उनले भने, ‘यो असन्तुष्टिलाई बुझेर यसलाई सम्बोधन गर्दै देशलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको हो।’
महामन्त्री थापाले यो जिम्मेवारी पूरा गर्न पार्टीभित्र ठूलो आत्मविश्वास, शुद्धता र सुझबुझ आवश्यक रहेको बताए। उनले सत्ता र शक्तिका लागि पार्टीले आफ्नो आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्न नहुनेमा जोड दिए।
‘हाम्रो आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै पनि अर्थ रहँदैन,’ थापाले भने, ‘त्यस्तो सत्ताको अर्थ रहन्थ्यो भने जननायक बीपी कोइराला निर्वाचित प्रधानमन्त्री ८ वर्ष जेल बस्नुको सट्टा राजासँग सम्झौता गरेर फेरि प्रधानमन्त्री हुनुहुन्थ्यो होला।’
उनले लोकतन्त्रमा बहुमतको आधारमा गरिएको निर्णय ‘वैधानिक’ भएपनि पार्टीका सबै सदस्यले स्वीकार नगरेसम्म त्यो ‘वैध’ नहुने तर्क गरे।
‘लोकतन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ, तर मसँग संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन,’ उनले भने, ‘निर्णय गरियो, संख्याको आधारमा वैधानिक हुन्छ, तर सबै पार्टी सदस्यले स्वीकार्यो भने त्यो वैध हुन्छ। लोकतन्त्र चल्न वैधानिक मात्र भएर हुँदैन, वैध पनि हुनुपर्छ।’
प्रकाशित: ४ भाद्र २०८२ १७:१७ बुधबार





