नेपाली कांग्रेसले पत्रकार धरपकडको घटनामा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको हो।
बैठकपछि बोल्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताए।
सरकारको पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बताउँदै यसबारे सरकारले जवाफ दिनुपर्ने बताए।
उनले पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र नभइ यो विधिको शासनविपरीत र स्वेच्छाचारिता भएको आरोप लगाए।
सरकारले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न लागेको आरोप लगाउँदै उनले सरकार मूल्य मान्यताविपरीत लागेमा कांग्रेसले विरोध गर्ने बताए।
प्रकाशित: १६ कार्तिक २०८३ १२:०५ सोमबार





