कोसी प्रदेशका इँटाभट्टाहरूमा कामदार अभाव हुँदा उत्पादनमा कटौती गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुने भएको छ। कोइला र माटोमा महँगो पैसा खर्चनुपरेका बेला मजदुर सहज ढंगले नपाउँदा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
कोसी प्रदेशमा कुल ६० वटा रहे पनि अहिले ४२ वटा हाराहारी सञ्चालनमा आएका छन्। यी सबै इँटाभट्टाले दक्ष कामदार भारतबाटै अनिवार्य रूपमा ल्याउनुपर्ने बाध्यता छ। ‘हामी प्रायः गरेर भारतको पश्चिम बंगालका कामदार ल्याएर काम लगाउने गर्छौं, यसपटक मेरै उद्योगका लागि २२५ जना कामदार खोजेर आएको अहिलेसम्म १२५ मात्र कामदार आइपुगेका छन्, अरु आएनन्’, कोसी प्रदेश इँटा व्यवसायी संघका अध्यक्ष् समेत रहेका सुनसरी दुहवी– ९ मा सञ्चालित जयबाबा इँटा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठले भने, ‘अब कामदार खोजी गर्न भारत जाने तयारीमा छु।’
उनका अनुसार भारतको पश्चिम बंगालबाट इँटा व्यवसायीले विभिन्न सर्तमा कामदार लोभ्याएर ल्याउने गर्छन्। प्रायः व्यवसायीले बस्ने र खाने व्यवस्था गरेर प्रतिइँटाका हिसाबले कबोल गरेर मजदुर ल्याइने गरिन्छ।
‘मैले मजदुर ल्याउँदा प्रति इँटा एक १२ पैसाका हिसाबले ल्याउने गरेको छु’, उनले भने, ‘कामदार ठुलो संख्यामा नआउँदा यस वर्ष धेरै ठुलै संख्यामा इँटा उत्पाखनमा कटौती हुने अनुमान गरिएको छ।’
जयबाबा इँटा उद्योगले बर्सेनि एक करोड ५० लाख हाराहारी इँटा उत्पादन गर्दै आएको छ। अब कामदार तोकिएअनुसार नथपिएमा यस वर्ष ७५ लाख हाराहारी मात्र इँटा उत्पादन गर्न सकिनेछ।
‘नेपाली कामदारले माटोको कामै गर्न जान्दैनन्’, उनले भने, ‘भारतकै कामदारको भर पर्दा भनेअनुसार आइदिँदैनन्।’ नेपाली युवा श्रमशक्ति ठुलो संख्यामा खाडी मुलुक, मलेसिया र पछिल्लो समय मौसमी कामदारका रूपमा दक्षिण कोरिया र युरोपतर्फ आकर्षित हुँदा पनि कोही इँटा उद्योगमा काम गर्न रुचाउँदैनन्।
अर्कातिर नेपाली कामदारमा काम गर्ने संस्कारको समस्या रहेको पनि व्यवसायीले बताएका छन्। इटहरी– १५ मा सञ्चालित अन्नत इँटाभट्टाका कर्मचारी सुरज दाहालका अनुसार नेपाली कामदार एक त खट्न सक्दैनन्, अर्कातिर विभिन्न पर्व आउँदा बिदा लिएर धेरै समय बसी दिने गर्छन्। ‘चाडपर्वमा बिदा लिने अनि धेरै दिनसम्म काम गर्न नआउँदा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था हुँदा प्रायः कामदार भारतबाटै ल्याइने गरिएको छ’, उनले भने, ‘भारतबाट ल्याइएका कामदारले ६ महिनासम्म काम गर्छन् अनि फर्कन्छन्।’
भारतबाट ल्याइएका कामदार आफ्नो परिवारसहित आउने गर्छन्। उनीहरूका लागि इँटाभट्टा परिसरमै बस्ने व्यवस्था मिलाइने हुँदा बिहानदेखि राति अबेरसम्म काम गर्ने गर्छन्। जसले गर्दा उद्योगले अपेक्षा गरेअनुसारको उत्पादनमा सहज हुने गर्छ।
इँटाभट्टामा इँटा थाप्ने (काँचो इँटा बनाउने), भित्र हुल्ने, पकाउने र पाकेको इँटा बाहिर निकाल्ने काम गर्नुपर्छ। यी सबै काम गर्नका लागि भारतीय कामदार मात्र दक्ष हुने गर्छन्। इँटाभट्टामा तीस वर्षअघि यहाँका थारु पुरुषले गरे पनि त्यसपछिको पुस्ताले गरेनन्। त्यसपछि यहाँका इँटा व्यवसायीले भारतबाटै कामदार ल्याउने गरेका छन्।
‘अब चाँडै इँटाभट्टाका लागि नयाँ नयाँ मेसिनको आविस्कार नभए चार/पाँच वर्षपछि इँटाभट्टा बन्द गर्नुपर्ने अवस्था आउँछ’, इटहरी– १६ मा सञ्चालित एनएम इँटाभट्टाका सञ्चालक बनोद अग्रवालले भने।
उनका अनुसार केही वर्षअघिसम्म इँटा बनाउनका लागि माटो मुछ्ने काम मजदुरले गर्थे। अचेल भने मेसिनद्वारा माटो मुछने काम हुने गरेको छ। यसरी हरेक काममा मेसिनबाट गर्न थालेमा मात्र उद्योग चलाउन सहज हुने र उत्पादनमा पनि वृद्धि गर्न सकिनेछ।
त्यसो त कतिपय इँटाभट्टाले पनि मजदुर अभावले गर्दा प्राविधिक मजदुर भारतबाट ल्याउने र अरु स्थानीयबाट पनि काम चलाउने गरेको विराट इँटाभट्टा विराटनगरका सञ्चालक तथा कोसी इँटा व्यवसायी संघका कार्यवाहक अध्यक्ष लिलाराज पराजुलीले बताए। उनका अनुसार भारतमै स्थानीय स्तरमा रोजगारीका अवसर उपलब्ध हुँदा भारतीय कामदार आउन झन्झट मान्ने गरेका छन्।
‘नेपाल र भारतका इँटाट्टा सञ्चालन गर्न सिजन लगभग मिल्दो भएकाले गर्दा पनि उतै (भारत) कामदारलाई भ्याइनभ्याई हुँदा नेपाल ल्याउन कठिनाइ हुने गरेको छ’, पराजुलीले भने। इँटा उद्योग प्रायः गरेर असोजबाट सुरु भएर वैशाख अन्तिम वा जेठको दोस्रो सातासम्म सञ्चालन हुने गर्छन्।
त्यसो त इँटाभट्टाका लागि पछिल्लो समय कोइला खरिद र माटोको मूल्यमा महँगो पर्दा पनि समस्या हुँदै आएको छ। इँटा पोल्नका लागि मुख्य इन्धनका रूपमा प्रयोग हुने कोइला पहिला–पहिला भारतबाट आउने गथ्र्यो। पछिल्लो समय अमेरिकाबाट आउने गरेको छ। ‘अमेरिकाबाट आउने कोइलाको मूल्य महँगो पर्छ’, कोसी इँटा व्यवसायी संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अमेरिकाबाट आउने कोइलाको मूल्य बढी पर्छ, भारतबाट न्यून मात्र आउने गर्छ।’
उनका अनुसार सामान्यतया एउटा इँटा उद्योगलाई आवश्यकताअनुसार सिजनमा सात सयदेखि एक हजार टनसम्म कोइला आवश्यक पर्छ।
इँटाभट्टाका लागि पछिल्लो समय माटो अभाव झेल्नुपरेको व्यवसायीले बताउँदै आएका छन्। एउटा इँटा उद्योगलाई दस चक्के टिप्परको १६/१७ हजार टिप्पर माटो आवश्यक पर्छ। तर माटो धनीले माटोको मूल्य नबढाएता पनि ढुवानीको मूल्य स्वाभाविक रुपमा बढ्ने गरेको छ। ‘प्रायः नजिकै माटो भेटिँदैन, माटो खोज्न टाढा जानुपर्दा ढुवानी खर्च बढ्ने गरेको छ’, व्यवसायी लिलाराज पराजुली भन्छन्।
कोसी प्रदेशमा यतिबेला प्रायः सबै इँटा व्यवसायीले इँटा थाप्ने (काँचो इँटा बनाउने) काम युद्दस्तरमा गरिरहेका छन्। यसरी तयार गरेको इँटा सरकारी नियमअनुसार माघदेखि पोल्न पाइन्छ। माघदेखि सुरु भएको पोल्ने काम मौसमले साथ दिएमा जेठको दोस्रो सातासम्म गर्न सकिन्छ। त्यसपछि भने बर्खा लागेर काम रोकिने गरेको छ।
प्रकाशित: १६ कार्तिक २०८३ ११:४८ सोमबार





