नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय नेता तथा कार्यकर्ताहरूले आलोचना र निन्दा बीचको भिन्नता छुट्याउन छाडेको बताएका छन्।
कांग्रेसका दिवंगत नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड अस : इन स्पिरिट एन्ड स्ट्रगल’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो धारणा राखेका हुन्।
राजनीतिक वृत्तमा कि त अन्धसमर्थन कि त चरम निन्दा गर्ने गलत प्रवृत्ति मौलाएको औंल्याउँदै सभापति थापाले भने, ‘हामी एउटा चरम बिन्दुमा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्याउन छाडेका छौं। कि त एकैचोटि निन्दामा पुग्छौं, कि त अर्को कोणमा पुगेर कुनै प्रश्न नै नगरी पूर्ण समर्थन गर्छौँ।’
दिवंगत नेता प्रदीप गिरी यी दुवै अतिवादी सोचभन्दा धेरै माथि रहेको उनले स्मरण गरे। ‘पार्टी कार्यालयका बैठकहरूमा थुप्रै साथीहरूसँग काम गर्दा अरूले के बोल्छन् भन्ने पहिल्यै अनुमान गर्न सकिन्थ्यो, दायाँपट्टि बसेको छ कि बायाँपट्टि, सभापतिको पक्षमा बोल्छ कि विपक्षमा,’ थापाले भने, ‘तर प्रदीप गिरी बोल्न उठ्दा उहाँले के बोल्नुहुन्छ भनेर कसैले अनुमान नै गर्न सक्दैनथ्यो।’
नेता गिरीप्रति सबैको विशिष्ट आकर्षण रहेको चर्चा गर्दै सभापति थापाले उनले सधैँ मनैदेखि आफ्ना निश्चित सिद्धान्तका आधारमा कुरा राख्ने गरेको बताए। गिरीको असहमति निन्दाभन्दा निकै पर र सधैँ गरिने अन्धसमर्थनभन्दा विल्कुलै फरक रहने गरेको उनको भनाइ थियो।
प्रकाशित: ६ भाद्र २०८३ १८:४५ शनिबार





-600x400.jpg)