१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शान्ति स्थापनामा नेपाल विश्वकै पहिलो नम्बरमा: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुक बन्न सफल भएको बताएकी छन्।

बुधबार ललितपुरको पुल्चोकस्थित युएन हाउसमा आयोजित नेपाल र संयुक्त राष्ट्रसंघबीचको साझेदारीको ७० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आज नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सहयोग अभियानमा सेना र प्रहरी योगदान गर्ने विश्वकै पहिलो नम्बरको मुलुक बनेको छ। शान्तिका लागि हाम्रा सुरक्षाकर्मीले विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा सेवा गरेका छन्। आवश्यक परेमा राष्ट्रसंघलाई थप सहयोग गर्न पनि हामी तयार छौँ।’

साथै, उनले आगामी फागुन २१ मा हुने निर्वाचन निर्धारित समयमै सम्पन्न हुने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।

मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय समुदायलाई आगामी निर्वाचन र सत्ता हस्तान्तरण शान्तिपूर्ण रूपमा हुने आश्वासन दिइन्।

‘फागुन २१ मा हुने निर्वाचनमार्फत सहज सत्ता परिवर्तनका लागि विश्व समुदायले चासो राखेको छ। म विश्वास दिलाउन चाहन्छु कि हामी यो निर्वाचन सम्पन्न गर्नेछौँ,’ प्रधानमन्त्रीले भनिन्, ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ र सुरक्षा व्यवस्थामा उल्लेख्य सुधार आएको छ।’

प्रधानमन्त्री कार्कीले सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकको सूचीबाट माथि उठ्ने बताइन्। यो नेपालका लागि ठूलो फड्को भएको उल्लेख गर्दै यस सफलतालाई दिगो बनाउन थप लगानी, प्रविधि र संयुक्त राष्ट्रसंघको निरन्तर साझेदारी आवश्यक रहेको औँल्याइन्।

सन् १९५५ डिसेम्बर १४ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै पञ्चशील र राष्ट्रसंघको बडापत्रलाई मूल मन्त्र मानेर अघि बढेको प्रधानमन्त्रीले स्मरण गरिन्।

उनले ७० वर्षको यो यात्रामा राष्ट्रसंघले नेपालको शान्ति, मानव अधिकार र विकासका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

‘दोस्रो विश्वयुद्धपछि भावी पुस्तालाई युद्धको पीडाबाट जोगाउन स्थापना भएको राष्ट्रसंघको भूमिका बदलिँदो विश्व परिवेशमा झनै बढेको छ,’ उनले भनिन्, ‘जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीहरू सामना गर्न हामीले राष्ट्रसंघीय प्रणालीलाई अझ बलियो बनाउनुपर्छ।’

प्रकाशित: २ पुस २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App