१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाल-अस्ट्रेलिया सम्बन्धको ६५ वर्ष: प्रधानमन्त्रीले यसरी सम्झिइन्

<br>

नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई देशबीचको बहुआयामिक सम्बन्धको चर्चा गरिन्।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले आयोजना गरेको उक्त भव्य समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको हालैको राजनीतिक परिवर्तन, सरकारको भविष्यको कार्यदिशा र अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वमाथि प्रकाश पार्दै आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते तोकिएको जानकारी दिइन्।

काठमाडौंको सोल्टी होटलमा आयोजित समारोहमा प्रधानमन्त्री कार्कीले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध केवल औपचारिक मात्र नभई पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमान्यताको बलियो जगमा उभिएको बताइन्।

उनले भनिन्, ‘आज हामीले ६५ वर्ष लामो यात्राको उत्सव मनाइरहँदा हाम्रो साझेदारी समयको परीक्षामा खरो उत्रिएको छ। यो अवसरमा म नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका मित्रवत् जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।’

सन् १९६० मा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको मित्रता निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा, व्यापार, विकास सहायता र सांस्कृतिक आदानप्रदानजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा दशकौंदेखि चल्दै आएको सहकार्यका लागि अस्ट्रेलिया सरकारप्रति आभार प्रकट गरिन्।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालको हालको राजनीतिक परिस्थितिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्।

उनले हालैको जेन-जी आन्दोलनले नेपालको लोकतान्त्रिक यात्रामा नयाँ ऊर्जा थपेको सुनाइन्। ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहेको स्पष्ट सन्देश दिएको छ,’ उनले भनिन्, ‘मेरो सरकारले यी महान् लक्ष्यहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसै प्रतिबद्धताको कार्यान्वयन स्वरूप हामी आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।’

प्रधानमन्त्री कार्कीले नेपालको सामाजिक-आर्थिक विकासमा अस्ट्रेलिया एक विश्वस्त र दरिलो साझेदार रहँदै आएको तथ्यलाई विशेष रूपमा उल्लेख गरिन्।

उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता अति महत्त्वपूर्ण क्षेत्रमा अस्ट्रेलियाबाट प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा उल्लेखनीय योगदान पुर्‍याएको छ।’

उनले नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि द्रुत गतिमा अघि बढिरहेको जानकारी दिँदै यस महत्त्वाकांक्षी लक्ष्य प्राप्तिका लागि अस्ट्रेलियाले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति कृतज्ञता ज्ञापन गरिन्।

दुई देशबीचको सम्बन्धलाई सरकारी स्तरबाट जनस्तरमा पुर्‍याउन शिक्षा र डायस्पोराले खेलेको भूमिकाको प्रधानमन्त्रीले उच्च प्रशंसा गरिन्। ‘हजारौँ नेपाली विद्यार्थीहरूले अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गरेका छन्। आज उनीहरू आफ्नो ज्ञान र सीपले नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेका छन्,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली समुदायलाई दुई देशबीचको ‘जीवन्त सेतु’ को संज्ञा दिइन्। उनले भनिन्, ‘यो विशाल डायस्पोराले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ। सांस्कृतिक आदानप्रदान र आपसी समझदारीलाई अझ गहिरो बनाएको छ।’

यसका साथै, पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्दै नेपालमा बढिरहेको अस्ट्रेलियाली लगानीप्रति उनले प्रसन्नता व्यक्त गरिन्।

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन, शान्ति स्थापना र मानवअधिकार जस्ता मुद्दाहरूमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले यसले दुई देशबीचका साझा मूल्य र विश्वव्यापी हितप्रतिको प्रतिबद्धतालाई प्रस्ट पारेको बताइन्।

‘नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको हामी उच्च प्रशंसा गर्दछौँ,’ उनले भनिन्।

समारोहमा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको योगदानको विशेष प्रशंसा गरिन्।

‘नेपाल-अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत जोन्स्टनले खेल्नुभएको भूमिका अविस्मरणीय छ,’ उनले भनिन्, ‘उहाँको समर्पण तथा व्यक्तिगत संलग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति भएको छ।’

प्रधानमन्त्रीले राजदूत जोन्स्टनलाई उनको आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै भविष्यमा पनि नेपाल-अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्धलाई समर्थन गरिरहने आशा व्यक्त गरिन्।

प्रकाशित: २९ कार्तिक २०८२ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App