नेपाल र चीनबिच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
ती क्षेत्रहरूमा पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन्।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिलामन्त्री वाङ यीसँग सोमबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको हो।
उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डलबिच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल-चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुन:व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट गरेको थियो।
त्यस्तै चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता पुन: दोहोर्याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको थियो। मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, दुवैपक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वार्तापछि मन्त्री खनाल विदेशमन्त्री वाङले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। परराष्ट्रमन्त्री खनालले सोमबार नै बेइजिङमा चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए। भेटमा पार्टीपार्टी आदानप्रदानसहित नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा विचार आदानप्रदान भएको थियो।
मन्त्री खनालले सोमबार नै बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको अवलोकन गरे। मन्त्री खनाल चारदिने भ्रमण सकी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित: २ असार २०८३ ०६:५६ मंगलबार


-600x400.jpg)

-600x400.jpg)
