कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत (छैटौं तह) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद भएको छ।
विवादपछि शिक्षा अधिकृत बलिराज शाहीले नगर उपप्रमुखबाट आफ्नै कार्यकक्षमा गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयाससमेत भएको आरोप लगाउँदै शान्ति–सुरक्षा र समस्या समाधान नभएसम्म सेवा प्रवाह स्थगित गरेका छन्।
सोमबार कार्यालय समयमा नियमित कामकाज गरिरहेको बेला उपप्रमुखबाट अभद्र व्यवहार भएको दाबी गर्दै शिक्षा अधिकृत शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी आवश्यक कारबाहीका लागि निवेदन दिएका छन्।
निवेदनमा उनले नियमविपरीत तथा आफ्नो पदीय जिम्मेवारीभित्र नपर्ने विषयमा काम गर्न दबाब दिँदै पटक–पटक फोन तथा भेटमार्फत गुनासो गर्ने गरिएको, र सोमबार भौतिक रूपमै कार्यकक्षमा आएर असुरक्षित वातावरण सिर्जना गरिएको उल्लेख गरेका छन्।
नगर उपप्रमुखले छात्रवृत्ति कोष तथा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको शिक्षण सहयोग अनुदान (सशर्त) शीर्षकको रकम असुल गर्ने विषयलाई लिएर आफूमाथि धम्की दिएको र जीवन नै असुरक्षित महसुस भएकाले सेवा प्रवाह गर्न नसकिने व्यहोरा निवेदनमा उल्लेख गरिएको छ।
अधिकृत शाहीले उक्त निवेदनको बोधार्थ नगर प्रमुख, उपप्रमुख तथा जिल्ला प्रशासन कार्यालय कालिकोट लाई समेत दिएका छन्।
यता, सोही विषयमा आफ्नो धारणा राख्दै नगर उपप्रमुख गणेशबहादुर शाहीले शिक्षा अधिकृतमाथि हातपात वा दुर्व्यवहार नगरिएको दाबी गरेका छन्।
उपप्रमुख शाहीका अनुसार नगरपालिकाको शिक्षा शाखाले वार्षिक बजेटको २२ प्रतिशत पनि खर्च गर्न नसकेको, शिक्षा क्षेत्रतर्फ ठूलो परिमाणमा बेरुजु आउने गरी काम गरेको तथा आवश्यक कागजपत्रसमेत पेश नगरी स्थायी शिक्षकहरूको तलब काटेर बेरुजु असुल गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेकाले आफूले सोधपुछ मात्र गरेको बताएका छन्।
उनका अनुसार विद्यालयका बालबालिकाहरूको दिवा खाजाको रकम निकासा गरिएको छैन, सङ्घीय अनुदानअन्तर्गतको महत्त्वपूर्ण बजेट फ्रिज भएको छ, र अहिलेसम्म सेनेटरी प्याडसमेत खरिद नगरिएकाले लापरबाही भएको देखिएको छ। त्यसैले नियमनकारी भूमिकाअन्तर्गत आफू शिक्षा अधिकृतको कार्यकक्षमा पुगेर काम किन नभएको भन्दै जवाफ माग्न गएको उपप्रमुख शाहीको भनाइ छ।
नगरपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न यस विवादले प्रशासनिक कामकारबाही प्रभावित बनेको छ। यसै सन्दर्भमा खाँडाचक्र नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीले दुवै पक्षबीच देखिएको विवाद तथा असमझदारीलाई तत्काल सम्बोधन गरिने बताएका छन्।
प्रमुख प्रशासकीय अधिकृत जोशीले कार्यालयको सेवा प्रवाहलाई सुचारु गर्न तथा असमझदारी हटाउनका लागि आजै दुवै पक्षलाई राखेर आवश्यक छलफल र संवाद गरिने जानकारी दिएका छन्।
प्रकाशित: २ असार २०८३ १२:१३ मंगलबार





