१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल एयरलाइन्स यो भन्दा बढी बिग्रिने ठाउँ छैन : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अवस्था निकै कमजोर रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको अवस्था यहाँभन्दा बिग्रिने ठाउँ नरहेको बताए।

उनले नेपाल एयरलाइन्स निजी कम्पनी भएको भए अहिले नै खारेजीको अवस्थामा पुगिसक्ने बताए। मन्त्री पौडेलले भने, ‘नेपाल एयरलाइन्सको अवस्था कस्तो छ भनेर कसैले सोध्यो भने यहाँभन्दा बिग्रिने ठाउँ छैन। बुझ्नु भयो नि अब यहाँ भन्दा बिग्रिने ठाउँ छैन। यदि यो कुनै प्राइभेट कम्पनी हुन्थ्यो भने त्यो लिक्विडेसनमा जान्थ्यो।’

उनले निगमको व्यवस्थापन चुस्तदुरुस्त बनाउने, सही समयमा सही निर्णय लिन सक्ने संयन्त्र विकास गर्ने र आवश्यक जनशक्तिको योजना बनाउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले अहिले निगमसँग भएका छवटा जहाजमध्ये एउटामा मात्रै समस्या आए पनि उडान रिसेड्युलिङ र टिकट काटिसकेका यात्रुको व्यवस्थापनमा ठूलो खर्च गर्नुपर्ने अवस्था रहेको बताए।

‘विद्यमान संरचना र परिपाटीबाट जहाज थपेर मात्रै केही हुँदैन। सबैभन्दा पहिले संरचनागत सुधारमा काम गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने।

यस्तै, मन्त्री पौडेलले निगममा मानव संसाधन, मार्केटिङ र सञ्चालनसम्बन्धी स्पष्ट योजना नभएको पनि बताए। नयाँ जहाज ल्याए पनि उडाउन आवश्यक जनशक्ति नहुने अवस्था रहेको उल्लेख गर्दै उनले पाइलट उत्पादन तथा व्यवस्थापनमा समेत दीर्घकालीन योजना आवश्यक रहेको बताए।

उनले जहाजको मर्मतसम्भार र ओभरहलका लागि समेत पर्याप्त वित्तीय योजना नरहेको बताए। वाइडबडी जहाजको उडान साइकल सकिन लागेको र त्यसपछि ठूलो रकम खर्च गरेर ओभरहल गर्नुपर्ने अवस्था रहेको उनले बताए।

दुवै वाइडबडी जहाजको ओभरहलमा करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानसहितको प्रतिवेदन आएको जानबारी दिँदै उनले यस्तो ठूलो खर्चका लागि समयमै वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने भए पनि निगमको कमजोर आर्थिक अवस्थाका कारण त्यो चुनौतीपूर्ण रहेको बताए।

यस्तै, मन्त्री पौडेलले नेपाल एयरलाइन्सलाई नाफा कमाउने संस्थाका रूपमा मात्रै हेर्न नहुने बताए। राष्ट्रिय ध्वजावाहकको मुख्य उद्देश्य विदेशी पर्यटकलाई नेपाल ल्याउनु, पर्यटन क्षेत्रको विकास गर्नु, होटल तथा पर्यटकीय गतिविधि विस्तार गर्नु र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान तथा राष्ट्रिय आत्मविश्वास बढाउनु रहेको बताए।

प्रकाशित: १६ आश्विन २०८३ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App