२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्धको नेकपाद्वारा विरोध

बैठक अब वैशाख ३ गते

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गर्ने निर्णय गरेको छ।  

विगत सात दिनदेखि निरन्तर जारी बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो कदमले नागरिक तथा श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यसको विपक्षमा उभिने निष्कर्षमा पुगेको बताए।

४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। दैनिक केही घण्टा मात्र सञ्चालन हुँदै आएको यो बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, नयाँ सरकारको कार्यशैली तथा एकीकृत पार्टीभित्र कमिटी समायोजनका विषयमा गहन छलफल भइरहेको छ। खतिवडाका अनुसार हालसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक रूपमा कुनै निर्णय पारित भएको छैन।

नयाँ वर्षको व्यस्तता र आन्तरिक तयारीका लागि समय आवश्यक परेकाले बैठक अब वैशाख ३ गते पुनः बस्ने तय गरिएको छ। सोही बैठकबाट पार्टीको आगामी कार्ययोजना तथा साङ्गठनिक समायोजनको ठोस खाका अन्तिम रूप दिइने बताइएको छ। खतिवडाले वैशाख ३ वा ४ गतेभित्र बैठक टुंग्याएर पार्टीका आगामी रणनीति सार्वजनिक गरिने जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०८२ १६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App