नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई तथा शुभकामना दिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बहुमत प्राप्त गरी प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई पार्टीले शुभकामना दिएको हो। शनिबार केन्द्रीय कार्यालय कोटेश्वरबाट जारी प्रेस विज्ञप्तिमा पार्टीले नयाँ सरकारको सफल कार्यकालको कामना गरेको छ।
बधाई ज्ञापनसँगै सो पार्टीले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भएको एउटा निर्णयप्रति भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति पार्टीले प्रश्न उठाएको हो।
केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।’ सरकारले चाल्ने कदमहरू न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रुप लिन नहुनेमा पार्टीले सचेत गराएको छ।
सरकारको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कार्की आयोगले दिएको सुझाव अनुसार राजनीतिक नेतृत्वहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
प्रकाशित: १४ चैत्र २०८२ २०:१२ शनिबार





