नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले धरातल छाडेर ‘हावादारी गफ’ दिएको र त्यसले देशलाई बर्बादीतिर लगेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार सदनमा आफ्नो सरकारको एक वर्षे कार्यकालको प्रगति विवरण प्रस्तुत गरेपछि बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।’
प्रधानमन्त्री ओलीले सदनमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको विषय उठाएकोमा पनि दाहालले असन्तुष्टि जनाए। आफूले रंगशालाको अवस्थाबारे सदनमा बोलेको कुरा सही भएको दाबी गर्दै उनले भने, ‘टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ। उहाँले त्यसलाई मात्रै इस्यू बनाउनुभएको छ। त्यो बेठिक छ।
प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधि सभामा आफ्नो सरकारले एक वर्षमा गरेका कामहरूको लामो फेहरिस्त प्रस्तुत गरेका थिए।
प्रकाशित: २९ श्रावण २०८२ १९:१२ बिहीबार





