३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

अप्ठ्यारो बेला नेतृत्व छाडेर हिँड्दिनँ, अर्को महाधिवेशनसम्म अध्यक्ष म नै हो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र चुलिँदो आन्तरिक विवाद र असन्तुष्टिबीच आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताएका छन्।

पार्टी संकटमा रहेका बेला आफू मैदान छाडेर नभाग्ने दाबी गर्दै उनले अध्यक्षको विकल्प खोज्ने र हस्ताक्षर अभियान चलाउने नेताहरूलाई चेतावनी दिएका हुन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर नेतृत्व फेर्ने षड्यन्त्र भइरहेको भन्दै आक्रोश पोखे।

‘अहिले पार्टीमा अलिकति अनुशासनहीनता देखापरेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर केहीले हल्ला चलाएका छन्, अध्यक्षलाई हटाउने रे ! कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँडेका छन्,’ ओलीले भने।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरू नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका बेला अध्यक्ष ओलीले पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई आवारा भने।

कार्यकर्ताको अत्यधिक मतबाट अर्को महाधिवेशनसम्मका लागि आफू नेतृत्वमा चुनिएको दाबी गर्दै उनले बाहिरी विरोधीको प्रहार झेल्नुपर्ने बेला पार्टीभित्रैबाट अध्यक्ष हटाउने खेल हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

अनुशासन उल्लंघन गर्नेहरूलाई पार्टी छाड्न खुला चुनौती दिँदै ओलीले भने, ‘पार्टीको विरोध गर्दै सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने भए अनुशासनमा बस्नुपर्छ। होइन भने अर्को पार्टीमा गए हुन्छ वा चुप लागेर घर बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने विधि, नीति र नियम पालना गर्नैपर्छ।’

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई अनुशासनका साथ अघि बढाइने र विधानविपरीत गतिविधिमा संलग्न हुनेहरूमाथि संगठनात्मक कारबाही गरिने चेतावनी दिए।

प्रकाशित: ३० श्रावण २०८३ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App