नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका वर्तमान पदाधिकारीहरू आमनिर्वाचनमा जनमतबाटै अस्वीकृत भइसकेको भन्दै पार्टीभित्र अनावश्यक रडाको नमच्चाउन चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू पूर्ण रूपमा पराजित भएर पनि पार्टीमा हठ देखाइरहनु लज्जास्पद भएको टिप्पणी गरे।
पूर्वसभापति शेरबहादुर देउवाको दृढ बचाउ गर्दै नेता खड्काले भने, ‘कहिले कुनै चुनाव नहारेका शेरबहादुर देउवालाई उहाँहरूले स्वीकार्नुभएन। तर, अहिले उहाँहरूका पूराका पूरा पदाधिकारी चुनाव हारेर जनताबाट अस्वीकृत भइसक्दा पनि के आधारमा दाबी गरिँदैछ ? कांग्रेसलाई यो हविगत र हैसियतमा पुर्याउन उहाँहरूकै प्रमुख भूमिका रह्यो।’
आन्दोलन र आगजनीको परिस्थिति नबनेको भए जनताले कसलाई स्वीकार गर्छन् भन्ने यथार्थ सबैले देख्ने दाबी गर्दै उनले टिकट वितरणमा गरिएको विभेदकै कारण पार्टीले पराजय भोगेको आरोप लगाए। ‘हामीजस्ता साथीहरू चुनावमा उठेनौं, सबैलाई मिलाएर टिकट दिएको भए के पार्टीमा यस्तो समस्या हुन्थ्यो ?,’ खड्काले प्रश्न गरे।
विवाद छाडेर नेतृत्वलाई गल्ती स्वीकार्न आग्रह गर्दै उनले भने, ‘उहाँहरूले गल्ती स्वीकार्नुपर्यो। हामीले कोसिस गर्यौं तर भएनछ, अब पार्टीलाई एक बनाऊँ भन्नुपर्छ। कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा आमजनताले बुझिसकेका छन्।’
युवा नेतृत्वको सरकार बनेको र जनताले पाँच वर्षको समय दिएको स्मरण गराउँदै नेता खड्काले अब आन्तरिक किचलो छाडेर सांगठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने बताए।
प्रकाशित: ३० श्रावण २०८३ १९:१७ शनिबार





