२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

देशभर शान्तिपूर्ण मतदान जारी : जेनजी अभियान्ताहरू खुसी

भदौ २३ मा भएको जेनजी आन्दोलन र भदौ २४ मा भएको हिंसात्मक घटनापछि भदौ २७ मा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

सरकारको पहिलो म्यान्डेट नै फागुन २१ भित्र निर्वाचन गराउनु थियो। सोही अनुसार आज देशभर निर्वाचन आयोगको व्यवस्थापनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहँदा आन्दोलनमा सक्रिय जेनजी अभियन्ताहरूले खुसी व्यक्त गरेका छन्।

जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री कार्कीको दृढताले देशको लोकतन्त्रलाई पुनः मार्गमा ल्याएको बताएकी छिन्। उनले चुनाव हुन नदिने भन्दै आएका नेताहरू समेत अन्ततः निर्वाचनमा भाग लिन बाध्य भएको बताउँदै प्रधानमन्त्रीको जिद्दीपनले लोकतन्त्रलाई बचाएको प्रतिक्रिया दिएकी छिन्। साथै उनले आन्दोलनका सहिदहरूको न्याय र घाइतेहरूको उचित व्यवस्थापन हुनुपर्ने माग पनि दोहोर्‍याएकी छिन्।

त्यस्तै जेनजी फ्रन्टकी संयोजक रक्षा बमले संकटको समयमा संवैधानिक मर्यादा कायम राखेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेकी छिन्। उनले आन्दोलनका क्रममा लोकतन्त्र जोगिएको अनुभूति आफूले महसुस गरेको बताइन्। हिजो सुशासनका निम्ति सडकमा प्रश्न उठाएको र आज परिवर्तनका लागि मतदान गरेको बताउँदै उनले लोकतन्त्रप्रतिको प्रेम रहेको र यो पुस्ताले लोकतन्त्र पुनः दाबी गरेको बताएकी छिन्।

अर्की अभियन्ता तनुजा पाण्डेले आजको मतदान केवल लोकतन्त्र बचाउने मत मात्र नभई दण्डहीनता, विभाजनकारी राजनीति र फासीवादी प्रवृत्ति विरुद्धको सचेत आवाज भएको बताइन्। उनले आफ्नो पुस्ताले सडकमा उभिएर लोकतन्त्रलाई व्यवहारमा उतार्ने प्रयास गरेको बताएकी छिन्। साथै आजको मतदानलाई त्यही संघर्षको निरन्तरता भएको उनले बताएकी छिन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App