४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको भर्त्सना गर्दै वर्तमान सरकारको बर्खास्ती र जनादेशको माग गरेको छ।

सोमबार भएको हिंसात्मक घटनापछि एक विज्ञप्ति जारी गर्दै रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दै वर्तमान संसदले वैधता गुमाइसकेको निष्कर्ष निकालेको हो।

‘निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गृहमन्त्री लगायत सबै दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।

सरकारबाट हत्या गरिएका ‘जेनजी योद्धाहरू’ प्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरेको छ।

आगामी रणनीति तय गर्न पार्टीको सचिवालय बैठक जारी रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २३ भाद्र २०८२ १८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App