राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको लक्ष्यसहित शुक्रबार काठमाडौंमा ‘वृहत् राजनीतिक संवाद’ आयोजना गरेको छ।
बालुवाटारस्थित नेपाल हाउसमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक शक्ति तथा स्वतन्त्र व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
‘जेन-जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा केन्द्रित रहेको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायतका नेताहरू सहभागी भएका छन्।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रास्वपाका उपसभापति तथा उच्चस्तरीय संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले जेन-जी आन्दोलनको भावना र मर्मअनुसार नयाँ राजनीतिक विकल्पका लागि संवाद थालिएको जानकारी दिए।
उनले नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र युवा पुस्ताबीच सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने खतरा रहेको औंल्याउँदै विविध राजनीतिक विकल्पबारे खुला छलफल आवश्यक रहेको बताए।
संवादको प्रारम्भमा स्वागत मन्तव्य दिँदै डा. वाग्लेले बहसको उद्देश्य स्पष्ट पारेका थिए। त्यसलगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकताका विषयमा आफ्नो धारणा राखेका थिए।
प्रकाशित: १४ कार्तिक २०८२ १४:३६ शुक्रबार





