१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शन गर्नेलाई भन्यो: संयमित रहनुहोस्

राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।  

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेका हुन् । उनले नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारसहित मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सरकारलाई आह्वान गरेको पनि उल्लेख गरेकाछन् ।

‘समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ’, विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्यमान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्दछ ।’

आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ ।

‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ, आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ ।’

त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने, उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्नेलगायत कर्तव्य निर्वाह गर्नुपर्ने आयोग विज्ञप्तिमार्फत जनाएको छ ।  

नागरिकका यस प्रकारका अधिकारहरूको सम्मान गर्ने र सो अधिकार उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले गत भदौ २३ र २४ को प्रदर्शनपश्चात् जेनजी पुस्ताले उठाएका जायज मागको समयमा सम्बोधन हुनु आवश्यक रहेको आयोगको भनाइ छ ।

 

प्रकाशित: ९ कार्तिक २०८२ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App