२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएबा छन्।  

सभाको सोमबारको बैठकमा दलीय आधारमा बोल्दै सांसद जगत तिमिल्सिनाले वैज्ञानिक अनुसन्धान, नवप्रवर्द्धनमा राष्ट्रियसभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।  

उनले भने, ‘भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दाको रूपमा अगाडि बढाउन यो सभाले महत्त्वपूर्ण भूमिका खेलोस्, सबै सार्वजनिक निकायमा भ्रष्टाचारको निगरानी बढाएर अनुगमन र जवाफदेही प्रक्रिया लागू गर्न पनि यो सभाले भूमिका निर्वाह गर्नुपर्छ।’  

सांसद धर्मेन्द्र पासवानले प्रतिनिधिसभामा दलित र मधेसी समुदायको प्रतिनिधित्व कमजोर बन्दै गएको भन्दै प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए। सांसद प्रेमप्रसाद दङ्गालले भने, ‘हाम्रो मुलुकलाई बहुधार्मिक र भौगोलिक विविधताका बीच सबै प्रकारका विभेद् अन्त्य गर्दै एकताबद्ध राख्नुपर्ने छ, विधिताबीच एकताबीच आउनुपर्ने छ।’

सांसद मीना सिंह रखालले कर्णाली प्रदेश प्राकृतिक रूपमा धनी भए पनि विकास र आधारभूत सूचकमा सबैभन्दा पछाडि परेको उल्लेख गर्दै कर्णालीलाई राज्यले प्राथमिकताका साथ विकासमा जोड दिनुपर्ने बताइन्। कर्णालीमा गरिबी दर करिब ३० प्रतिशत रहेको उनको भनाइ छ।  

सांसद रेखाकुमारी झाले सबैभन्दा बढी मधेस प्रदेशमा महिला हिंसाका घटना हुने गरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सरकारले मधेसी केन्द्रित विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन्।  

सांसद रोशनी मेचेले राष्ट्रियसभालाई समावेशी बहसको थलोका रूपमा पनि विकास गर्नुपर्ने धारणा राखिन्। सांसद लिलाकुमारी भण्डारीले मध्यपूर्वमा भएको युद्धका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारसँग आग्रह गरिन्।  

सांसद सुनिलबहादुर थापाले नेपालको आर्थिक क्षेत्रलाई अगाडि बढाउन सरकारले नयाँ कानुन निर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । सांसदहरू वासुदेव घिमिरे, सम्झना देवकोटा र सोमनाथ पोर्तेलले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: २३ चैत्र २०८२ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App