राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। बुधवार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग समसामयिक विषयमा कुराकानी गरेका हुन्।
भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ।
विश्वभरका १८१ देशका संसद्हरू सदस्य रहेको आइपियूको १५१ अौँ महासभा स्वीजरल्यान्डको जेनेभामा यही अक्टोबर १९ मा सुरु हुँदैछ।
उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसद्को एक प्रतिनिधि मण्डल जेनेभा जानेछ।
आइपियूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालले गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए।
प्रकाशित: २९ आश्विन २०८२ १२:५२ बुधबार





