राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मंगलबार आयोजित एक विशेष समारोहबीच आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त उपाध्यक्ष डा. श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
उपाध्यक्षले शपथ लिएलगत्तै उनले सदस्य प्रा. हाडालाई प्रधानमन्त्रीको उपस्थितिमा शपथ गराएका छन्।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइन्।
उनले मुलुकको वर्तमान अवस्थाको गहिरो अध्ययन गरी ‘जेनजी’ युवा पुस्ताको आकांक्षा र भावनालाई समेट्ने गरी योजना तर्जुमा गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामीले तपाईंहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ। मुलुकको अहिलेको परिस्थितिबारे तपाईंहरू जानकार नै हुनुहुन्छ। यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ। देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ।’
मुलुकको साख उकास्ने गरी नतिजामूलक काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्रीको भनाइ थियो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई उपाध्यक्ष र प्रा. हाडालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथ ग्रहण समारोहमा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित: १ पुस २०८२ १६:४९ मंगलबार





