नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपालमा पुँजीवादी जनवादी क्रान्ति मौलिक रूपमा सम्पन्न भइसकेको र अब वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिक लक्ष्यका साथ पार्टी एकता गरिएको बताएका छन्।
बुधबार कम्युनिष्ट घटकहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एकीकृत पार्टीको कार्यदिशा र तत्कालिन कार्यभारबारे प्रस्ट पारेका हुन्।
सम्बोधनका क्रममा उनले पार्टी एकताको ऐतिहासिक अभिभारा सफलतापूर्वक पूरा गर्ने दिशामा संयोजक र सह-संयोजकको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिए।
उनले भने- ‘हामीले यो एकीकृत पार्टी किन निर्माण गर्यौँ भन्नेमा स्पष्ट हुनुपर्छ। नेपालमा पुँजीवादी जनवादी क्रान्ति आधारभूत रूपमा आफ्नै मौलिकतामा सम्पन्न भइसकेको अहिलेको स्थितिमा, नेपाल समाजवादी क्रान्तिको चरणमा छ र हाम्रो रणनीतिक लक्ष्य नेपाली विशेषतासहितको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो।’
नेता श्रेष्ठले समाजवादको नारा लगाएर मात्र राज्य र समाजको चरित्र नबदलिने भन्दै त्यसका लागि ठोस कार्यनीति आवश्यक रहेकोमा जोड दिए। उनले भने, ‘आजको हाम्रो मूल कार्यनीति भनेको सामाजिक न्यायसहितको समृद्धि हो, समाजवाद उन्मुख समृद्धि हो र समाजवादको आधार तयार पार्नु हो।’
उनले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन महान जनयुद्ध र जनआन्दोलनको संयोजनबाट सम्भव भएको बताउँदै अबको अपेक्षा सामाजिक-आर्थिक रूपान्तरण, विकास र समृद्धि भएको बताए।
उनले कम्युनिष्ट आन्दोलनको आजको मुख्य समस्या वैचारिक-सांस्कृतिक भएको औँल्याउँदै एकीकृत पार्टीले ठूलो रूपान्तरणको अभियान चलाउनुपर्ने बताए।
‘हाम्रो एकीकृत पार्टी रूपान्तरणसहितको एकीकृत पार्टी हुनुपर्छ। हामीले विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ, सामूहिकता र संस्थागत प्रणालीमा ध्यान दिनुपर्छ र वर्ग तथा जनमुखी चरित्र हासिल गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: १९ कार्तिक २०८२ १६:३२ बुधबार





