१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नैनसिंह महरको दाबी: कांग्रेस एकताबद्ध हुन्छ, ठाडो शिर गरेर महाधिवेशन र चुनावमा जान्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी एकताबद्ध भएर महाधिवेशन र चुनावमा जाने दाबी गरेका छन्। बिहीबार स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शुक्रवार बस्ने केन्द्रीय समिति बैठकले पार्टीका सबै समस्या समाधान गरेर अघि बढ्ने दाबी गरे।  

अहिले पार्टीको शीर्ष तहमा र अन्य समूहहरूका बिचमा विभिन्न कोणबाट गहन छलफल भइरहेको बताउँदै नेता महरले अब पार्टीभित्रको मतभिन्नता निकासको बाटोमा पुगेको बताए। 

‘छलफलले निकास दिन्छ। पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा ठाडो शिरसहित होमिने वातावरण बन्दै छ,’ उनले भने, ‘अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौँ।’

नेता महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र (रोडम्याप) दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ । भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।’

उनले ‘जेनजी’ पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने बताए।

पार्टीभित्र युवाहरूको सम्मानजनक उपस्थितिको वकालत गर्दै आएका महरले जारी केन्द्रीय समिति बैठकमा आफूले ठोस प्रस्ताव राखेको जानकारी दिए। उनले भने, ‘मैले जारी केन्द्रीय समितिमा युवाहरूको हरेक तहमा नेपाली कांग्रेसभित्र न्यूनतम ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्न प्रस्ताव पेस गरेको छु ।’

प्रकाशित: ११ मंसिर २०८२ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App