२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंका मेरा मतदाता स्तब्ध भए, मैले पनि चित्त बुझ्दो जवाफ दिन सकिन: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताएका छन्। सर्लाही क्षेत्र नं. ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको दाबी गरे।

सभापति थापाका अनुसार उनले यसअघि तीन पटक चुनाव जितिसकेका थिए र काठमाडौं–४ मा उम्मेदवारी दिँदा अवस्था सहज थियो। ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलहरूले उम्मेदवार नै खोज्न सकेनन्,’ उनले भने, ‘मैले काठमाडौंमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’

सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्दै उनले यस विषयमा काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे।

‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उनले भने, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’

कांग्रेसको सभापति भएपछि मधेससँग जोडिनैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै थापाले पार्टीको भविष्य मधेससँग गाँसिएको धारणा व्यक्त गरे। उनका अनुसार मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा उनी पुगेका छन्।

थापाको यो भनाइलाई कांग्रेसको रणनीति र मधेस केन्द्रित राजनीतिक विस्तारसँग जोडेर हेरिएको छ।

प्रकाशित: १० माघ २०८२ १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App