नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता द्वारिकाप्रसाद न्यौपानेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कैलालीबाट महाधिवेशन प्रतिनिधि भएर आएका न्यौपानेले सोमबार औपचारिक रूपमा केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
उम्मेदवारीपछि प्रतिक्रिया दिँदै न्यौपानेले पार्टी र मुलुक दुवैका लागि युवाको नेतृत्व अपरिहार्य भइसकेको बताएका छन् । ‘आज पार्टीलाई मात्र होइन, देशलाई नै युवाहरूको नेतृत्व चाहिएको छ,’ उनले भने, ‘यही आवश्यकता महसुस गरेर मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । युवा पंक्तिले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सञ्चालनमा प्रभावकारी भूमिका खेल्न सक्छ ।’
२०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट कैलाली–१ प्रदेशसभा २) का उम्मेदवार रहेका न्यौपानेले त्यसबेला ‘नमुना टीकापुर’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । हाल उनी पार्टी निर्माणमा युवाको भूमिका रोजगारी, अर्थतन्त्र र ऊर्जा क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने अवधारणासहित सक्रिय छन् ।
केन्द्रीय सदस्यका उम्मेदवार न्यौपानेले अबको पुस्ताले पार्टी नेतृत्व सम्हाल्ने जिम्मेवारी लिनुपर्नेमा जोड दिए । पार्टी र जनताबीचको सुदृढ सम्बन्धबाट मात्र विकास सम्भव हुने उनको तर्क छ । ‘अबको नेतृत्व वैचारिक मात्र होइन, उद्यमशील र रोजगारमुखी पनि हुनुपर्छ,’ उनले भने, ‘रोजगार सिर्जना र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने पार्टी मात्र जनतामा टिक्न सक्छ । नेकपा एमाले जनताको पार्टी बनाउने अभियानमा हामी अघि बढिरहेका छौँ ।’
अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका न्यौपाने केन्द्रीय तथा जिल्ला राजनीतिमा समन्वयकारी भूमिकामा चिनिन्छन् । उनी ऊर्जा क्षेत्रका उद्यमीसमेत हुन् । पार्टी नेताहरूका अनुसार सुदूरपश्चिममा देखिएको नेतृत्वको रिक्तता पूर्ति गर्ने दिशामा उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
न्यौपानेका अनुसार यस महाधिवेशनबाट युवाहरूको उल्लेख्य उपस्थिति केन्द्रीय नेतृत्वमा हुने अपेक्षा गरिएको छ, र आफू पनि त्यस प्रक्रियाको हिस्सा बन्न चाहन्छन् । जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थालाई स्मरण गर्दै उनले एमालेको यो महाधिवेशन विशेष महत्वको हुने बताए । ‘पार्टीभित्र युवाको भूमिकाबारे गम्भीर बहस भइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रतिनिधिहरूले सक्रिय, सक्षम र युवा नेतृत्व खोजिरहेका छन् ।’
युवा नेता तथा व्यवसायी न्यौपानेले राजनीति गर्ने व्यक्तिले पेशागत जिम्मेवारी र कर्मलाई पनि इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा राखे । ‘राजनीतिसँगै कर्ममा जोडिन सकियो भने सदाचार कायम रहन्छ,’ उनले भने, ‘म नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै जिम्मेवारीका साथ अघि बढेको छु ।’
प्रकाशित: २९ मंसिर २०८२ १९:२९ सोमबार





