नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सरकारका मन्त्रीहरूलाई नियम कानुन लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेकी छन्। मंगलबार संसद्मा बोल्दै उनले पछिल्लो समय सरकारका मन्त्री धम्कीमा उत्रिएको भन्दै यस्तो बताएकी हुन्।
सांसद यादवले अर्थमन्त्री र पूर्वाधार मन्त्रीका पछिल्ला अभिव्यक्तिहरू अराजक भएको र त्यसले संसद् तथा कानुनकै धज्जी उडाएको आरोप लगाइन्। अर्थमन्त्रीले रोष्टममा उभिएर सांसदहरूलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाइन्।
'अर्थमन्त्री (स्वर्णिम वाग्ले) ज्यूले दिनुभएको अभिव्यक्ति, रोष्टममा बसेर सांसदलाई थर्काउने होइन। देशमा नियम कानुन छ,' यादवले भनिन्, 'यदि थाहा छ भने उहाँले 'फाइल खोल्छु' भनेर धम्की दिनुहुन्छ सांसदहरूलाई भने, देशको नियम कानुन अन्तर्गत रहेर उहाँले फाइल खोलेर कारबाही गर्नुपर्छ। धम्की होइन, आफूलाई बचाउनलाई आफ्नो बचाउ गर्नलाई धम्की दिने होइन।'
त्यस्तै, भौतिक पूर्वाधार मन्त्री (सुनिल लम्साल) ले ठेकेदारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति पनि उनले प्रश्न उठाइन्। 'पूर्वाधार मन्त्रीज्यूले ठेकेदारको गएर 'काम नगरे खुट्टा भाँचिदिनु' भनेर भन्नुभयो। के देशमा नियम कानुन छैन? उहाँ सर्वमान्य हुनुभयो?' यादवले प्रश्न गरिन्, 'के हाम्रा देशका मन्त्री, प्रधानमन्त्रीज्यूहरूले कानुन नमान्ने हो? उहाँहरूले देशको नियम कानुन मान्नुभएन भने कसले मान्ने?'
सो अवसरमा उनले गृहमन्त्री (सुधन गुरुङ) को विषयमा गठन भएको छानबिन समितिको प्रतिवेदन सदनलाई जानकारी नगराई उनलाई पुनः सरकारमा फर्काइएको भन्दै यादवले आक्रोश पोखिन्।
उनले राखेका चार मागमा प्रधानमन्त्री (बालेन्द्र शाह) को विवादित अभिव्यक्तिबारे अनिवार्य स्पष्ट जवाफ, सांसदहरूलाई धम्की दिने अर्थमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण, गृहमन्त्रीको छानबिन प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गरिनुपर्ने र मन्त्रीहरूका विवादित अभिव्यक्तिहरू संसद्को रेकर्डबाट हटाइनुपर्ने रहेका थिए।
प्रकाशित: २ असार २०८३ १२:०३ मंगलबार





