सांसद शम्भुकुमार यादवले गोलबजारमा खानेपानीको गम्भीर संकट रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आज बसेको संसद् बैठकमा बोल्दै यादवले यस्तो बताएका हुन्। उनले एउटा समर्सिबल पम्पबाट पानी लिनसमेत स्थानीयले लामो लाइन बस्नुपर्ने अवस्था रहेको बताए। केही वर्षयता गोलबजारमा खानेपानीको समस्या झन् बढ्दै गएको उनको भनाइ छ।
उनले भूमिगत पानीको अत्यधिक दोहन, अनियमित तथा न्यून वर्षा, लामो खडेरी, सिँचाइका लागि खेतमा मोटर तथा डिप ट्युबवेल सञ्चालन गर्ने परम्परा, परम्परागत जलाशय तथा पोखरीको अतिक्रमण र बढ्दो सहरीकरणका कारण भूमिगत पानीको सतह निरन्तर घट्दै गएको बताए।
भूमिगत पानीका स्रोत घट्दै जानु गम्भीर चेतावनी भएको भन्दै यादवले गोलबजारका प्रभावित परिवारलाई तत्काल सुरक्षित खानेपानी उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
उनले सामूहिक तथा व्यवस्थित खानेपानी प्रणाली विकास गर्न र भूमिगत पानीको अनियन्त्रित दोहन रोक्न दीर्घकालीन योजना लागू गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १५ आश्विन २०८३ १२:५५ बिहीबार





