कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ। बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले सम्मेलन असोज २७ र २८ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको हो।
यसअघि प्रदेश सरकारले असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो।
बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले सम्मेलनको मिति परिवर्तन गरी असोज २७ र २८ गते आयोजना गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा विराटनगरका तोयानाथ खतिवडा र खोटाङको हलेसी तुवाचुङकी हरिकुमारी राईलाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए।
प्रकाशित: १५ आश्विन २०८३ १७:४९ बिहीबार

