१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

नापीका सर्वेक्षकले ७ करोड कमाउँदा, खर्च १२ करोड: झन्डै ५ करोड बिगोसहित भ्रष्टाचार मुद्दा

नापी कार्यालय कलंकी, काठमाडौंका सर्वेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती कमला श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार २०५३ साउन २७ मा सेवा प्रवेश गरेका श्रेष्ठको जाँच अवधिसम्मको समग्र आम्दानी र खर्चको विश्लेषण गर्दा ठूलो मात्रामा अवैध सम्पत्ति देखिएको हो।

श्रेष्ठ र उनको परिवारको वैध आय ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ देखिएकोमा सोही अवधिमा १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ बराबरको खर्च तथा लगानी भेटिएको छ।

वैधानिक आयको तुलनामा कुल खर्च तथा लगानी घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसाको स्रोत खुल्न नसकेपछि अख्तियारले सोही रकमलाई बिगो कायम गरेको छ।

सरकारी सेवामा रहँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको आयोगको ठहर छ।

श्रेष्ठले अवैध रूपमा आर्जन गरेको रकम जग्गा खरिद, घर निर्माण, सेयर, सवारी साधन, छोरीहरूको अध्ययन खर्च र बैंक मौज्दातमा खर्च गरेको पाइएको छ।

यसका साथै उनले अख्तियारमा वास्तविक सम्पत्ति लुकाएर झुट्ठा सम्पत्ति विवरण पेस गरेकोसमेत पुष्टि भएको छ।

अख्तियारले सर्वेक्षक श्रेष्ठविरुद्ध बिगोबमोजिम ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ जरिवाना, कैद सजाय, सम्पत्ति जफत तथा झुट्ठा विवरण दिएबापत थप सजायको मागदाबी लिएको छ।

श्रीमती कमला श्रेष्ठको नाममा समेत गैरकानुनी सम्पत्ति राखिएकाले उक्त सम्पत्ति जफत गर्न माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित: १५ आश्विन २०८३ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App