१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

सांसद खत्रीलाई पत्रकार महासंघको आग्रह: तत्काल माफी माग्नुहोस्

नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासङ्घलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा खत्रीले बुधबार प्रतिनिधि सभा बैठकमा प्रेस काउन्सिललाई धम्क्याउने व्यक्तिलाई ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको अभिव्यक्ति दिएको उल्लेख छ।

महासङ्घले उक्त अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रको अपमान भएको जनाएको छ। महासङ्घले खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्न आग्रह गर्दै प्रतिनिधि सभा बैठकको रेकर्डबाट विवादित भनाइ हटाउन सभामुखसमक्ष माग गरेको छ।

त्यस्तै, महासङ्घले संवैधानिक अधिकारको सम्मान गर्दै प्रेस तथा पत्रकारिताप्रति जिम्मेवार व्यवहार गर्नसमेत आग्रह गरेको छ।

महासङ्घले प्रेसविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने र पत्रकार तथा प्रेस जगतलाई धम्क्याउने गतिविधिमा संलग्न सांसदलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०८३ २०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App