नेपाली कांगेसकी सांसद उर्मिला थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका बताएकी छिन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको बताइन्।
उनले भनिन्,‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका छन्। त्यसको असर पर्सा जिल्लाको ठोरी नाकामा पनि देखापरेको छ,’ उनले भनिन्,‘ भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लाग्दा पर्यटन व्यवसाय प्रभावित भएको छ। त्यहाँ भन्सार कार्यालयको भवन भए पनि आवश्यक कर्मचारीको व्यवस्था नहुँदा आफ्नै प्रशासनिक कमजोरीका कारण समस्या सिर्जना भएको देखिएको छ।’
उनले ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न, आवश्यक कर्मचारीको व्यवस्था गर्न र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन माग गरिन्।
यस्तै, उनले सरकारले १०० बुँदे कार्यसूचीअनुसार प्रतिबद्धता पूरा नगरेको आरोप लगाइन्। उनले भनिन्,‘ सरकारले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता जनाएको थियो तर व्यवहारमा जनताले त्यसको अनुभूति गर्न सकेका छैनन्। महँगी बढिरहेको छ, सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन, र जेनजी आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा पनि सरकार गम्भीर देखिएको छैन। सुकुम्बासी हरु आज पनि सरकारको बाटो कुरेर बसिरहेका छन।’
भ्रष्टाचारविरुद्ध कडा कारबाही आवश्यक रहेको बताउँदै उनले निष्पक्ष, प्रमाणमा आधारित र कानुनी प्रक्रिया अनुसार कारबाही गर्न माग गरिन्।
प्रकाशित: २२ असार २०८३ १३:३६ सोमबार





