मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। आज (सोमबार) मधेसका सात दलका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन्।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका छन् भने तोडफोडमा सांसदहरूकै संलग्नता देखिएको छ।
सोही क्रममा नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन्। उनले राष्ट्रिय झण्डा निकालेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
आज नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध मधेसका सात दलका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा समेत मागेका छन्।
उपचारका लागि काठमाडौं जान लागेको बताउँदै निस्किएकी प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री यादवलाई कटेजमै मुख्यमन्त्री नियुक्त गरी शपथ खुवाएकी थिइन्। सो पश्चात् मधेस प्रदेश अहिले तनावग्रस्त भएको छ।
प्रकाशित: २४ कार्तिक २०८२ १४:१० सोमबार





