प्रतिनिधिसभा सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद खातुनले निर्मला पन्तदेखि गरिमा चौधरीसम्मका पीडित परिवार अझै न्यायको प्रतीक्षामा रहेको बताइन्। उनले केवल भाषण गरेर नपुग्ने भन्दै संसद्ले आवश्यक कानुनी सुधार गर्नुपर्नेमा जोड दिइन्।
उनले बलात्कारपछि हत्या लगायतका जघन्य अपराधमा दोषीलाई उन्मुक्ति दिने अवस्था अन्त्य गर्नुपर्ने बताउँदै संविधान तथा मानव अधिकारका प्रचलित मान्यताअनुकूल आवश्यक कानुनी प्रक्रिया पूरा गरेर यस्ता अपराधमा मृत्युदण्डको व्यवस्था गर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने धारणा राखिन्।
खातुनले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानकै क्रममा रहेका अभियुक्तको बयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा पनि उनले गम्भीर प्रश्न उठाइन्।
‘अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो, कसले खिच्यो र कसले सार्वजनिक गर्यो भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ,’ उनले भनिन्। पीडित परिवार न्यायको प्रतीक्षामा रहेका बेला उनीहरूको पीडालाई सामाजिक सञ्जालको तमासा बनाउन नहुने उनको भनाइ थियो।
प्रकाशित: ८ भाद्र २०८३ १३:५१ सोमबार





-600x400.jpg)