राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापामा जंगली हात्तीबाट स्थानीय बासिन्दा पीडित भइरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रानाले झापाका नागरिकले हात्तीका कारण सास्ती भोग्नुपरेको बताइन्।
दशैं नजिकिँदै गर्दा खेतबारीमा बाली पाक्ने समय भएकाले हात्तीबाट बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएको उनको भनाइ छ।
‘आज झापाली जनता हात्तीबाट पीडित छन्। दशैं आउँदै छ, बाली पाक्न लागेको छ। दिनरात जनता नसुती हात्ती रुँग्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘तर सरकारले अहिलेसम्म यसको समाधानका लागि ठोस पहल गरेको छैन।’
उनले हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
त्यसैगरी, सांसद रानाले जग्गाको निस्सा पाइसकेका सुकुमबासीलाई पुनः नापजाँचका नाममा दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाइन्।
निस्सा पाइसकेका सुकुमबासीलाई फेरि नापी गर्नुपर्ने भन्दै स्थानीय तहबाट भ्रम फैलाउने काम भइरहेको जनगुनासो आउने गरेको उनले बताइन्।
उनले यस विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै निस्सा प्राप्त गरिसकेका भूमिहीन सुकुमबासीलाई आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरिन्।
प्रकाशित: १६ आश्विन २०८३ १२:१० शुक्रबार





-600x400.jpg)