२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारलाई सांसद पाठकको प्रश्न: विदेशबाट उद्धारको गुहार मागेका युवासम्म राज्य किन पुग्न सक्दैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले विदेशमा रहेका नेपाली युवाप्रति सरकार किन बेखबर बनेको भन्दै प्रश्न गरेका छन् ।  

उद्धारको गुहार माग्दै आएका पीडितको नामसहित उनले राज्यले युवाको खोज तथा उद्धारमा तदारुकता देखाउन नसक्नुको कारण पनि मागेका छन् ।  

सोमबारको प्रतिनिधिसभा बैठकमा आकष्मिक समय लिएर झापा बिर्तामोर्डका सन्थाल परिवारका नरेन्द्र हेमनरको अवस्था, ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेका प्रेम फुयाँलको अवस्था सुनाउँदै यस्ता घटनामा पीडित बनेका युवाको खोजीमा राज्य लाग्नुपर्ने सुझाएका छन् ।  

उनले भने, ‘नरेन्द्र हेमरम र प्रेम फुयाँल प्रतिनिधि पात्र मात्र हुन्। संसारभर विभिन्न मुलुकमा पुगेका लाखौँ नेपालीमध्ये हजारौँ नेपाली नागरिक समस्यामा फसेका छन्। सम्पर्कविहीन बनेका नागरिकका परिवारमा ठूलो मानसिक पीडा त छँदैछ। उनीहरूको समस्या समाधान दिने निकाय पनि उनीहरूभन्दा धेरै टाढा देखिन्छ।’

भाषा, कानुनी सहजीकरण तथा अशिक्षाका कारण धेरै नेपाली समस्यामा परेको पाइएको उनले बताए । पाठकले भने, ‘केही नेपाली परदेशमा जेलमा पुगेका छन्, केही भाषाको अशिक्षता तथा कानुनी सहजीकरणको अभावमा समस्यामा परेका छन्। द्विपक्षीय सम्बन्ध स्थापित नभएका मुलुकमा यो अवस्था झनै डरलाग्दो छ। नेपाली दूतावास भएका मुलुकमा पनि हाम्रा युवा संकटमा पर्ने अवस्थाले परिवारमा ठूलो चिन्ता थपेको छ।’

यी समस्या समाधान गर्न राज्यको भूमिका खोज्दै उनले परराष्ट्र मन्त्रालय तथा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई चार प्रश्न गरेका छन् ।  

१. विदेशी भूमिमा रहेका नेपाली नागरिकको उद्धारका लागि कति प्रक्रिया अघि बढाइएको छ?

२. विभिन्न कारणले फसेका वा फसाइएका नेपाली नागरिकको संख्या कति छ?

३. कुन-कुन देशका जेलमा कति नेपाली छन् र के-के कारणले उनीहरू जेल पुगेका हुन्?

४. उद्धारका लागि राज्यसँग गुहार मागेका युवासामु राज्य किन पुग्न सक्दैन?

यी प्रश्नसँगै पाठकले अरु देशले नागरिकको जिम्मेवारी बोधसहित उद्धारमा जुट्दा हाम्रो सरकारले किन कूटनीतिक पहल गर्न नसकेको भन्दै चिन्ता गरेका छन् । सम्बोधनका क्रममा उनले भनेका छन्, ‘आफ्नो एउटा नागरिक विदेशी भूमिमा संकटमा पर्दा धेरै देशले राज्यको प्रतिष्ठा र नागरिकप्रतिको जिम्मेवारीको बोध गर्ने गरेका छन्। कूटनीतिक र दूतावासीय सहजीकरणका लागि आवश्यक सबैखाले कदम चाल्न सरकार गम्भीर बन्न आवश्यक छ।’

प्रकाशित: २५ श्रावण २०८३ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App