राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सार्वजनिक स्थल र सञ्चार माध्यममा महिलाका मुद्दाभन्दा पनि बाह्य रूपलाई प्राथमिकता दिने प्रवृत्तिप्रति कडा आपत्ति प्रकट गरेकी छन्।
पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा आएकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै सञ्चारमाध्यमलाई आफ्नो व्यवहार र प्रश्न गर्ने शैलीमा सुधार ल्याउन आग्रह गरेकी हुन्।
विशेषगरी युवा महिला सांसद वा नेताहरूसँग संवाद सुरु गर्दा ‘राम्री हुनुहुन्छ’ वा ‘चिटिक्क परेर आउनुभएको छ’ जस्ता टिप्पणी गर्नुले महिलालाई विषयवस्तुबाट टाढा धकेल्ने उनको तर्क छ।
‘यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस् त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो’, उनले लेखेकी छन्, ‘हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौ। तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ, र सार्वजनिक बहसको स्तरलाई घटाउँछ।’
रास्वपा सचेतक समेत रहेकी सांसद धितालले अगाडि भनेकी छन्, ‘सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन्। त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्।’
उनले महिलाहरू आफैँ पनि अरूले लगाइदिएको सौन्दर्यको लेपनमा हौसिन नहुने र आफूलाई सुधार गर्नुपर्नेमा जोड दिइन्। सांसद धितालले युट्युब च्यानल र मूलधारका मिडियाबिचको दूरी प्रश्नको स्तरले नै निर्धारण गर्ने उल्लेख गर्दै युट्युब च्यानलहरूबाट समेत सिक्न सुझाव दिएकी छिन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति मेरो सधैँ सम्मान र आत्मीयता रहँदै आएको छ। तर लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण मोडमा केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्नु आवश्यक ठानेकी छु।
विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा “राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देख्दै छु। यो व्यक्तिगत टिप्पणी लाग्ला तर सोच्नुस् त यो संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो।
हामीले समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएका हौ। तर बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले हाम्रो आवाजलाई कमजोर पार्छ, मुद्दालाई ओझेलमा पार्छ, र सार्वजनिक बहसको स्तरलाई घटाउँछ।
यो भन्दै गर्दा हामी आफैँ पनि के गर्ने, के नगर्ने भन्नेमा उत्तिकै सचेत हुनुपर्छ। अरूले लगाइदिएको सौन्दर्यको लेपनमै हौसिरहेका छौ भने, आफूलाई सुधारौँ।
तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन्। त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस्।
म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक (intellectual) रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्। मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबिच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ।
प्रश्न गर्ने स्तर उकास्नुहोस्। केही युट्युब च्यानलहरू आफैँ मुख्यधारा मिडियासँग प्रतिस्पर्धामा उभिएका छन् आवश्यक परे त्यहाँबाट पनि सिक्नुस्। हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौँ, र आवश्यक तयारीका साथ उभिनेछौँ।
सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै भयो। राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततः त्यही संस्कारलाई बलियो बनाउने त हो जसविरुद्ध हामी उभिँदै आयौँ।
मिडिया सूचना दिने माध्यम मात्रै होइन, समाजको चेतना निर्माण गर्ने शक्ति पनि हो। यही शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनु तपाईंहरूको अपरिहार्य दायित्व हो। हामी आफ्नो भूमिकाबाट यति धेरै नभड्कौँ।
प्रकाशित: ६ वैशाख २०८३ १२:०५ आइतबार





