मुगुका गणेश नेपालीको दुखद निधनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले राज्यको नियम र नागरिकको जीवनका विषयमा गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नियमको पालना अनिवार्य भए पनि त्यो मानिसको जीवनभन्दा माथि हुन नसक्ने तर्क गरेका छन्। उनले भनेका छन्, ‘नियम मान्छेका लागि हो। एउटा मान्छेले नियम नमान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो।’
उनले थप भनेका छन्, ‘नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढी मिहिनेत गर्नु पर्छ।’
सांसद कार्कीले मान्छे र नियममध्ये एक रोज्नुपर्ने अवस्था आएमा आफूले मान्छेलाई नै रोज्ने स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘मान्छे र नियम मध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मूर्खता हो। र पनि जवाफ दिनु पर्छ भने म मान्छे रोज्छु। तपाईं के रोज्नु हुन्छ?’
उनले सरकार र पार्टीका समर्थकहरूलाई आग्रह गर्दै भनेका छन्, ‘प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल।’
देशमा दैनिक आत्महत्याको दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले यसको रोकथामका लागि बहस गर्नुपर्नेमा जोड दिएका छन्।
कार्कीले भनेका छन्, ‘समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला। आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ। दुवै कम गर्न सकिन्छ। त्यो बारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल।’
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालको ‘आइसियु’मा उपचारका क्रममा निधन भएको हो।
प्रकाशित: २६ असार २०८३ १४:२९ शुक्रबार





