१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सांसद बरालको प्रश्न : चिकित्सा शिक्षा आयोगको बैठकमा अवैध सहभागिता किन?

प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्तिलाई सहभागी गराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा आयोगको उपाध्यक्ष पद रिक्त रहेकै अवस्थामा बाहिरका व्यक्तिलाई उपाध्यक्षको हैसियतमा सहभागी गराइएको बताए।  

बरालले छनोट प्रक्रिया चलिरहेको समयमा श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्षको भूमिका दिएको भन्दै उनले प्रश्न गरे। ‘हिजो प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकबाट छात्रवृत्तिसम्बन्धी कार्यविधि स्वीकृत गरियो। तर ऐनले नचिनेको व्यक्ति श्रीकृष्ण गिरी कसरी उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुनुभयो ?’ उनले प्रश्न गरे। 

उनले उपाध्यक्ष पद रिक्त हुँदा प्रचलित कानुनी व्यवस्थाअनुसार संस्थाभित्रकै वरिष्ठ अधिकारीलाई जिम्मेवारी दिन सकिने भए पनि बाहिरबाट व्यक्ति ल्याएर बैठकमा सहभागी गराइनु कानुन विपरीत भएको बताए। 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको छ । उक्त पदका लागि १० जनाले आवेदन दिइसकेको छन्। जसमा  उपाध्यक्ष पद छनोटका लागि लोकसेवा आयोगका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव तथा चिकित्सा क्षेत्रमा योगदान पुर्‍याएका एक महिला सदस्य सम्मिलित सिफारिस समिति बनेको छ।   

प्रकाशित: ३ असार २०८३ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App