रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेका तीर्थयात्री सवार जीप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि नेकपा रुकुम पूर्वले तय गरेको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण गर्दै समापन गरेको छ।
नेकपाका संयोजक तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालको उपस्थितिमा आजका लागि बैठक आयोजना गरिएको थियो। तर दुःखद दुर्घटनापछि कार्यक्रमको स्वरूप परिवर्तन गरिएको हो।
जिल्ला स्तरीय बैठकले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै बैठकबाट औपचारिक शोक प्रस्ताव समेत पारित गरिएको जनाइएको छ।
श्रद्धाञ्जली मन्तव्यका क्रममा प्रचण्डले विपद् र शोकको घडीमा नियमित राजनीतिक कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने भन्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको बताए।
उनले घटनास्थलको भौगोलिक विकटताका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको उल्लेख गर्दै हिजोदेखि नै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा सैनिक मुख्यालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।
उनले भने, “सरकारले पनि यसलाई गम्भीर रूपमा लिएको छ। सरकारको नेतृत्व गर्ने पार्टीका प्रमुखसँग पनि हाम्रो सम्पर्क भएको छ। उद्धारका लागि आवश्यक कुनै काम बाँकी नरहने गरी पहल भइरहेको आश्वासन प्राप्त भएको छ।”
प्रचण्डले मृतक परिवारका बालबच्चा तथा आश्रितहरूका लागि राज्यबाट राहत, सहयोग र थप सहायताको व्यवस्था हुनुपर्नेमा आफूले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइसकेको बताए।
उनले भने, “त्यहाँ खाली उद्धार मात्रै होइन, राहत मात्रैले पनि पुग्दैन। दीर्घकालीन सहयोगको खाँचो छ।”
प्रकाशित: १८ वैशाख २०८३ १५:२१ शुक्रबार





-600x400.jpg)