कर्णाली प्रदेशमा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै २६ हजार ६ सय ३५ नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्। प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका अनुसार नाम दर्ता तथा अद्यावधिकका लागि तोकिएको मंसिर ५ को समयसीमा सकिएसँगै कर्णालीका १० जिल्लाबाट संकलित सबै विवरण सार्वजनिक भएको हो।
यसअघिसम्म कर्णालीमा पुराना मतदाता संख्या १० लाख ६ हजार ८ सय ३४ थियो। नयाँ दर्तासँगै प्रदेशभर मतदाताको कुल संख्या करिब १० लाख ३३ हजारमा पुगेको छ। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाट पनि नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि नयाँ मतदाता बढेको अधिकारीहरूले बताएका छन्।
प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा धेरै ७ हजार ३ सय ६२ जनाले नयाँ दर्ता गराए। यसअघि सुर्खेतमा २ लाख ४४ हजार ६ सय ७६ पुराना मतदाता थिए। यस्तै जुम्लामा ३ हजार ३६ नयाँ (पुराना ६७ हजार ७४४), दैलेखमा ३ हजार ६२६ नयाँ (पुराना १ लाख ५९ हजार ८६५), सल्यानमा ३ हजार १८० नयाँ, रुकुम पश्चिममा २ हजार ८४० नयाँ (पुराना १ लाख ४ हजार २३८), जाजरकोटमा २ हजार २१० नयाँ, कालिकोटमा १ हजार ७७६ नयाँ (पुराना ७२ हजार ८०), डोल्पामा १ हजार ७ नयाँ (पुराना २२ हजार ९८५), हुम्लामा ८२४ नयाँ (पुराना ३३ हजार ३ सय ८), मुगुमा ७७४ नयाँ (पुराना ३८ हजार ९१) मतदाता थिए।
यता जुम्लामा मतदाता वृद्धिसँगै दुई नयाँ मतदान केन्द्र थप्ने र एउटा स्थानान्तरण गर्ने सिफारिस केन्द्रीय निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञराज अर्यालले बताए। हिमा–१ र पातारासी–७ मा एक–एक केन्द्र थप्ने तथा तिला–९ मा रहेको केन्द्र सार्ने प्रस्ताव गरिएको छ। हाल जुम्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८३ मतदान स्थल र १०८ मतदान केन्द्र (२ अस्थायीसहित) रहेका छन्।
यसपटक दर्ता भएका नयाँ मतदातामध्ये ८० प्रतिशतभन्दा धेरै १७–२५ वर्ष उमेर समूहका रहेका छन्। जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक सक्रियता र पछिल्ला घटनाक्रमले युवालाई मतदानतर्फ आकर्षित गरेको निर्वाचन कार्यालयको विश्लेषण छ।
निर्वाचन अधिकारी लालबहादुर गुरुङले भने, ‘पहिलेको तुलनामा यसपटक युवा मतदाताको चाप निकै थियो। आफ्नो मताधिकार सुनिश्चित गर्न उनीहरू उत्साहित देखिए।’
विगतका निर्वाचनप्रति खासै चासो नदेखाउनेहरू पनि यसपटक प्रचारप्रसारदेखि राजनीतिक बहससम्म सक्रिय हुन थालेको स्थानीय तहहरूले जनाएको छ।
निर्वाचन आयोगले १० असोजदेखि ५ मंसिरसम्म मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि समय तोकेको थियो। नेपाली नागरिकता प्राप्त गरी २० फागुन २०८२ सम्म १८ वर्ष उमेर पूरा गर्ने सबैलाई दर्ता गर्न आह्वान गरिएको थियो।
कर्णालीमा नयाँ मतदाताको उल्लेख्य वृद्धि र युवाको सहभागितालाई आगामी निर्वाचनको महत्वपूर्ण सूचकका रूपमा हेरिएको छ।
प्रकाशित: १७ मंसिर २०८२ ०८:२९ बुधबार





